तुइन विस्थापनका योजनाकार डा. खिमलाल जो गृहमन्त्री बादलसँग भिड्दैछन्


२२ बैशाख २०७८, बुधबार
Khim Lal Devkota

काठमाडौं, २२ बैशाख : आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा केपी ओली नेतृत्वको एमालेबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग एमालेकै अर्को खेमाबाट खिमलाल देवकोटा उम्मेदवार भएका छन् । खिमलाललाई एमालेको माधव नेपाल–झलनाथ समूह, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समर्थन गरेका छन् । बादललाई ओली नेतृत्वको एमालेले उम्मेदवार बनाएको हो ।

देवकोटा कास्कीबाट बारा बसाइँ सरेको परिवारका सदस्य हुन् । हाल बाराको कोल्हवी नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनीभन्दा उनका दाइ नारायण देवकोटा पार्टी गतिविधिमा सक्रिय छन् । नारायण पेशाले अधिवक्ता हुन् । मधेस आन्दोलनका क्रममा कलैयास्थित घर आगजनी भएपछि विस्थापित भएका थिए । उनी अहिले एमालेसम्बद्ध कानुन व्यवसायीहरुको संगठन पिपिएलएका केन्द्रीय सचिव छन् ।

खिमलाल राजनीतिक रुपमा पञ्चायतकालमा तत्कालीन नेकपा मालेसम्बद्ध अखिल (पाँचौं) को बारा जिल्ला कमिटीमा लामो समय काम गरेका व्यक्ति हुन् । उक्त जिल्ला कमिटीमा एकबहादुर श्रेष्ठ अध्यक्ष थिए ।

अहिले उनी एमालेको खुला मोर्चाका रूपमा रहेको पेशागत महासंघमा आवद्ध छन् । उनको पार्टी सदस्यता एमालेको बारा–काठमाडौं सम्पर्क मञ्चमा रहेको मञ्चकी अध्यक्ष सतिदेवी उप्रेतीले बताइन् ।

Khim Lal Devkota 1

उनले त्रिभुवन विश्वविद्यालयबाट सन् २०१४ मा संघीय अर्थशास्त्रमा विद्यावारिधी गरेका हुन् । त्यसअघि उनले साइप्रसबाट वित्तीय अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

अध्ययनकालपछि उनी केही समय स्थानीय विकास मन्त्रालयअन्तर्गत झोलुङ्गे पुलसम्बन्धी परियोजनामा सम्बद्ध रहे । ०७२ सालमा केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा असुरक्षित तुइनलाई झोलुङ्गे पुलले विस्थापन गर्नुपर्ने अवधारणा उनैले अगाडि सारेका हुन् ।

०७४ को प्रदेशसभा निर्वाचनपछि उनी बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त भए । तर, पार्टीभित्रको आन्तरिक खिचातानीका क्रममा माधव नेपाल पक्षमा लागेको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलले असहयोग गरेपछि राजीनामा दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७