कालोबजारी गर्न फेरि कृत्रिम अभाव


२३ बैशाख २०७८, बिहीबार
tarkari scaled

काठमाडौं, २३ बैसाख । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’ मूल्यवृद्धि पाइएको हो ।

यही सोमबारसम्म २ सय ५० पर्ने सनफ्लावर तेलको २ सय ८० र ८१ को ८६ रुपैयाँ पुर्‍याएको छ । दाल, गेडागुडी, चना, केराउ, मास, मुसुरोलगायत वस्तुमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढाइएको छ । कोरोना संक्रमित तीव्र बढेसँगै सर्जिकल मास्कमा समेत अत्यधिक मूल्य बढेको उपभोक्ताको गुनासो छ । राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन ठूला व्यापारीको पहुँच माथिसम्म हुने भएकाले संकटका समय ‘अत्यावश्यक वस्तु’ मा कालोबजारी मौलाउने गरेको दाबी गर्छन् ।

‘दैनिक उपभोग्यदेखि अत्यावश्यक स्वास्थ्य सामग्रीमा कृत्रिम अभाव देखाएर कालोबजारी भइरहेको छ,’ महर्जनले भने, ‘लकडाउनपछि मात्रै चिनी, खाने तेल, दाल गेडागुडीलगायतमा अस्वाभाविक मूल्यवृद्धि गरिएको छ । ‘वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक अनुगमन पनि गर्दै आए पनि ‘प्रभावकारी’ हुन नसकेको राष्ट्रिय उपभोक्ता मञ्च अध्यक्ष महर्जनको गुनासो छ । नेपाल खुद्रा व्यापार संघ अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार ठूला व्यापारी ‘मिलेमत्तो’ मा खाद्यवस्तुको मूल्य बढाउने गर्छन् ।

बजारमा दैनिक उपभोग्य वस्तु पर्याप्त हुँदाहुँदै पनि ‘कृत्रिम अभाव’ सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गर्ने गरेको उनले दाबी गरे । ‘कालोबजारीको संरक्षक नै सरकार भएपछि कसले कारबाही गर्ने ?’ श्रेष्ठ भन्छन्, ‘जसले गर्दा आमसर्वसाधारण सधैं मर्कामा पर्ने गरेका छन् ।’ राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७