रसुवामा एउटै गाउँका ४३ जनामा कोरोना संक्रमण


२३ बैशाख २०७८, बिहीबार
korona

रसुवा, २३ बैसाख । रसुवामा एउटै गाउँका ४३ जनामा कोरोना संक्रमण भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका–५ भोर्लेका एकै गाउँका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गएको सोमबार सोहि गाउँका ५३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएपछि कन्ट्रयाक ट्रेसिङको आधारमा ४६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि त्रिशुली अस्पताल नुवाकोट पठाइएको नौकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले जानकारी दिए । पछि पुनः तीन जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो ।

४६ जनाको स्वाब परीक्षण गर्दा ४० जनामा कोरोना पोजेटिभ देखिएको र पुनः तीन जनाको स्वाब परीक्षण गर्दा तिनै जनामा कोरोना पोजेजिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । कोेरोना संक्रमितहरु अहिले होम क्वारेन्टिनमा रहेको उनले बताए । उनका अनुसार संक्रमितहरुमा हालसम्म कुनै लक्षण देखिएको छैन् ।

कोरोना संक्रमित बढेसँगै गाउँपालिकाले बैशाख २९ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको छ । कोरोनाको जोखिम बढ्दै गएको र अझै तिब्र रुपमा फैलन सक्ने भएकाले स्वास्थ्य सेवा, विपद तथा आकस्मिक सेवा बाहेकका सेवा आजदेखि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचना जारी गरेर विवाह, ब्रतबन्ध, घेवा, सभा, भेला सम्मेलन लगायतका भिडभाड हुने कार्य नगर्न नगराउन अनुरोध गरेको छ ।

योसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ९८ पुगेको छ । स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १५, कालिकामा २५, उत्तरगयामा ११, नौकुण्डमा ४३ र बाहिरी जिल्लाका ४ जना रहेका छन् । कोरोना संक्रमितहरू ८ जना संस्थागत र ९० जना होम आइसोलेसनमा बसेका छन् । जिल्लामा हालसम्म दुई सय ८७ जनामा कोरोना पुष्टि भएको थियो । जसमा एक सय ८८ जना निको भएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७