ओली–नेपालबीच आज ‘निर्णायक’ छलफलको तयारी, होला कारवाही फिर्ता ?

एमालेमा फुट रोक्न दोस्रो तहका नेता पनि सक्रिय


२४ बैशाख २०७८, शुक्रबार
KP oli And madhav nepal 5 1536x762 1 1

काठमाडौं, २४ बैसाख । सत्तारुढ दल नेकपा एमालेका लागि आज (शुक्रबार) को दिन ऐतिहासिक दिन बन्ने देखिएको छ । आज प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले लिने निर्णयले नेकपा एमालेको भविष्य निर्धारण गर्ने निश्चित भइसकेको छ । आज एमालेका दुई पक्षले लिने निर्णयले एमाले एक ढिक्का रहने वा फुट्ने भन्ने अवस्था सिर्जना गर्ने अवस्था सिर्जना भएको छ । नेकपा एमालेका दुवै समूहका नेताहरु एकता जोगाउन सक्रिय छन् ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘निर्णायक’ छलफलको तयारी भइरहेको स्रोतको भनाइ छ । सरकारले विश्वासको मत लिन आउँदो २७ गते संसद् अधिवेशन बोलाएसँगै एमाले विभाजन नजिक पुगेको छ । तर एकता जोगाउन दुवै समूहका दोस्रो तहका नेताहरू सक्रिय बनेका हुन् । यसअघि हिजो र अस्ती आपसी छलफल गरेका नेताहरुले नेतृत्वलाई लचक बन्दै सहमति जुटाउन दबाब दिएका छन् ।

हिजो बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलमाथि ६ महिनाका लागि गरिएको कारबाही फिर्ता लिने विषयमा छलफल भएको थियो । त्यसपछि दुवैतर्फका नेताले विवाद समाधानका उपायबारे दिउँसो दुई चरणमा छलफल गरेका थिए ।

हिजोको छलफलपछि ओली पक्षका दोस्रो तहका नेताहरुले पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई पार्टीलाई एक बनाएर अगाडि लैजान दवाव सिर्जना गरेका छन् । आज राष्ट्रिय सभाको एक सिटका लागि उम्मेदवारी दिनुपर्ने भएकाले साझा उम्मेदवार बनाउने विषयमा हिजो छलफल भएको र आज पनि छलफलको तयारी भइरहेको नेताहरुले बताएका छन् । आउँदो जेठ ६ मा तोकिएको राष्ट्रिय सभाको उम्मेदवारमा नेपाल–खनाल समूहले खिमलाल देवकोटालाई उठाउने गरी राखेको प्रस्तावलाई कांग्रेस, माओवादी केन्द्र र जसपाले स्वीकार गरेपछि एमालेको संस्थापन पक्ष दबाबमा छ ।

अध्यक्ष ओली पक्षले गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने बताउँदै आएको छ । एमाले फुटको नजिक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओली र नेपालसँग बेग्लाबेग्लै छलफल समेत गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७