आज मनोनयन दर्ता र नामावली प्रकाशन, बादलको उम्मेद्वारी टुङ्गो लगाउन ओली अन्योलमा

यस्तो छ मतदाताको अंक गणित


२४ बैशाख २०७८, शुक्रबार
Badal khimlal

काठमाडौं, २४ बैसाख । निर्वाचन आयोगले आज (शुक्रबार) राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वारको मनोनयनका लागि समय दिएको छ । जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि दलहरूले उम्मेदवारको मनोनयन गर्नुपर्नेछ ।

नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत विपक्षी दलहरूले खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् । देवकोटा उम्मेद्वारी दर्ताका लागि शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले दिएको छ । उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने तयारी छ ।

माओवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश अन्य समूहतर्फबाट रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका थिए । थापा एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेर सांसद पद खाइदिएको थियो । रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको छ । गृहमन्त्री थापालाई एमालेले उम्मेद्वार बनाउने तयारी गरे पनि निर्णय गरिसकेको छैन ।

badal 17C4NgBZdK

प्रधानमन्त्री केपी ओलीले केही समय अगाडि थापालाई उम्मेदवार बनाएर जिताउने बताएका थिए । जित्न नसक्ने भएपछि थापाले उम्मेदवारी दिन हच्किएका छन् । हिजो बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले मतको आँकलन गरेर उम्मेदवारी दिइने र पार्टीका उम्मेदवारलाई जिताउने निर्णय गरे पनि उम्मेदवारी कसले दिने भन्ने टुंगो लगाएको थिएन ।

केही समयअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई नै उठाउने र जिताउने बताएका थिए । यो निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । बादलको उम्मेद्वारीबारे आज (शुक्रबार) पनि ओली पक्षमा छलफल हुँदैछ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आज नेपाल–खनाल पक्षसँग छलफल गरेर मात्र बादलको उम्मेद्वारीबारे टुङ्गो लगाउने सोंच बनाएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७