राष्ट्रियसभा सदस्यमा बादल र खिमलालको उम्मेदवारी दर्ता


२४ बैशाख २०७८, शुक्रबार
Badal khimlal

हेटौंडा, २४ बैसाख । नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा ‘बादल’ ले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडामा शुक्रबार उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन् ।

गृहमन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकोप्टरबाट हेटौंडा आइपुगेका हुन् । सो पदमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलका समर्थनमा डा. खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडाले जनाएको छ ।

सङ्घीयताविद् डा. देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र, वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले छन् । वाग्मती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहका प्रमुख उपप्रमुख २३८ र वाग्मती प्रदेशसभा सदस्य ११० जना गरी कूल ३४८ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बतएका छन् ।

उनका अनुसार आगामी जेठ ६ गते हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ । एउटा स्थानीय तहका लागि र अर्को प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७