अक्सिजन सिलिन्डर लिन वाइड बडी जहाज सोमबार बेइजिङ जाने


२५ बैशाख २०७८, शनिबार
Nepal Airlines landing
फाइल फोटो

काठमाडौं, २५ बैसाख । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते (आउँदो सोमवार) चीनको राजधानी बेइजिङ जाने भएको छ ।

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । यस प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज सोमवार बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए ।

‘चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी (निगम) ले जहाज पठाउँनका लागि आफ्नो तयारी थालिसकेका छौं’, उनले भने । चीनले २० हजार अक्सिजन सिलिन्डर अनुदानमा दिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७