आफ्नै नेतृत्वमा सरकारका लागि कांग्रेस निर्णायक कसरतमा

ओलीको विकल्प खोज्नैपर्छ : शेरबहादुर देउवा


२६ बैशाख २०७८, आईतवार

काठमाडौं, २६ बैसाख । प्रमुख प्रतिपक्षी कांग्रेस प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल गराएर आफ्नो नेतृत्वको बहुमतको सरकार बनाउने निर्णायक जोड घटाउमा जुटेको छ ।

प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावका विषयमा धारणा तयार गर्न शनिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मतमा असफल गराउने र आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गरी सोमबार संसद्को विशेष अधिवेशन आह्वान भएको छ । त्यसको पूर्वसन्ध्यामा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरिसकेको अवस्थामा अविश्वासको प्रस्ताव लैजानुभन्दा प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल गराएर बहुमतको सरकार बनाउने कसरत गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

ओलीको विकल्प खोज्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का बीच निरन्तर संवाद हुँदै आएको छ । शनिबारको बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली आपूm विश्वासको मत पनि नलिने र वैकल्पिक सरकार पनि बन्न नदिएर पुनः संसद् विघटन गर्ने दाउमा रहेको बिफ्रिङ गरेका छन् ।

‘ओलीले पुनः संसद् विघटन गरेर चुनावको घोषणा गर्न चाहेका छन्, तर अहिले एकपछि अर्को असंवैधानिक कदम चालिरहेको ओलीले चुनाव गराउँदैनन् । ओलीले गराएको चुनावमा भाग लिन सकिँदैन, त्यसैले ओलीलाई हटाउन हरसम्भव प्रयास भइरहेको छ,’ देउवालाई उदृत गर्दै एक सांसदले भने ।

प्रधानमन्त्री ओलीविरुद्ध बैठकको सुरुवातमै आक्रोशित भएर प्रस्तुत देउवाले सांसदहरूलाई २७ वैशाखमा संसद्को विशेष अधिवेशनमा विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएका थिए । ‘विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने हो, अहिले ओलीको विकल्प खोज्नैपर्ने अवस्था भएको छ, भएसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने हो, पार्टीको निर्णय पनि त्यही छ,’ देउवाले भनेका थिए, ‘यसका लागि सबै प्रयत्न भएका छन् ।’

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल बनाएपछि कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको जानकारी दिए । प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव ल्याइसकेकाले अब अविश्वासको प्रस्तावको अर्थ नहुने उनी बताउँछन् ।
‘प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन्छु भनेर प्रस्ताव राखिसक्नु भएको छ । अहिलेको हाम्रो विश्लेषण भनेको प्रधानमन्त्रीले राखेको विश्वासको मत पूर्ण रूपमा असफल हुन्छ भन्ने हो, विश्वासको मत नपाएपछि उहाँ स्वतः पदमुक्त हुनुपर्छ,’ खाँणले भने, ‘पदमुक्त भएको प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव किन लैजाने ?’

बैठकबाट बाहिरिँदै गर्दा देउवाले तत्कालै अविश्वासको प्रस्ताव नलगेर २७ वैशाखपछि बहुमतको सरकार बनाउन प्रयास भइरहेको संकेत गरेका थिए । ‘अहिले सरकारले विश्वासको मत लिने प्रस्ताव गरेको छ, कांग्रेस विपक्षी दल हो । परिस्थिति मिल्यो भने जुनसुकै वेला पनि अविश्वासको प्रस्ताव लैजान सक्छ, तर अहिले त्यस्तो परिस्थिति बनेको छैन,’ देउवाले भनेका छन् ।

बैठकमा सांसदहरू दिलेन्द्रप्रसाद बडू, गगनकुमार थापा, प्रकाश रसाइली ‘स्नेही’, पुष्पा भुसाल, देवप्रसाद तिमल्सिनालगायतले धारणा राखे । सबैको बोली प्रधानमन्त्री ओलीको विस्थापन र त्यसका लागि अविश्वासको प्रस्ताव लैजानुपर्नेमा केन्द्रित थियो । केही सांसदले अविश्वासको प्रस्ताव लैजान पार्टीले ढिलाइ गरेको धारणासमेत राखेका थिए ।

तर, देउवानिकट सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भने प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव ल्याएको अवस्थामा अविश्वासको प्रस्ताव राख्नुको अर्थ नभएको धारणा राखेका थिए । लगत्तै बोलेका सांसद डा. मीनेन्द्र रिजालले त्यसबारे बोलेपछि सांसदहरूलाई प्रस्टीकरण दिँदै देउवाले अविश्वासको प्रस्ताव दर्ता गर्ने वा नगर्ने भन्ने संवैधानिक र कानुनी विषयमा विज्ञहरूसँग छलफल गर्नुपर्ने बताएका थिए ।

सांसद गगन थापाले प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस अहिले जनतामा भरोसा जगाउने किसिमको विकल्प बन्नुपर्ने वेला रहेको बताए । उनले अब पनि प्रधानमन्त्री ओलीलाई टिकाइराख्नु भनेको यो व्यवस्था नै धरापमा पार्नु हो भन्ने बैठकको निष्कर्ष रहेको सुनाए । ‘प्रधानमन्त्रीको क्षमताको कुरा एउटा होला । तर, मुख्यचाहिँ उहाँको नियतको कुरा छ,’ थापाले भने, ‘उहाँले यो व्यवस्था, संविधान, संविधानको मूल्य र मान्यताप्रति कुनै पनि आस्था राखेको देखिँदैन । त्यो अवस्थामा उहाँले गर्ने निर्णरू स्वाभाविक हुन्छन् भनेर मान्न सकिँदैन । त्यसैले उहाँलाई अझै पनि प्रधानमन्त्रीकै रूपमा टिकाइराख्नु भनेको यो व्यवस्था नै धरापमा पार्नु हो ।’

राष्ट्रपतिको भूमिकाप्रति कांग्रेस सशंकित
प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका कस्तो हुन्छ भन्ने विषयमा भने कांग्रेस सशंकित देखिएको छ । सभापति देउवाले शनिबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको सहयोगी जस्तो भूमिकामा रहेको भन्दै आलोचना गरेका छन् । बैठकमा प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा राष्ट्रपति भण्डारीले बहुमतको सरकारका लागि आह्वान नै नगर्ने हुन् कि भन्ने विषयमा छलफल नै भएको थियो ।

‘अहिले राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय र निवासलाई एउटा राजनीतिक दलको कार्यालयजस्तो बनाउनुभयो । राष्ट्रपतिले दल सञ्चालन गर्ने, दलको किचलो मिलाउने, नेताहरूलाई जुटाउने, फुटाउने गरिरहनु भएको छ, अहिले राष्ट्रपतिको भूमिकाका कारण गम्भीर हुनुपर्ने अवस्था छ,’ देउवालाई उद्धृत गर्दै प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘कांग्रेस उहाँलाई आफ्नो मर्यादामा रहन आग्रह गर्दछ । राष्ट्रपति मर्यादित र सम्मानित बन्नुनु् । त्यो भनेको जनता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको सम्मान हो । त्यस कारण दलको कार्यकर्ताको जस्तो भूमिका नखेलिदिन आग्रह छ । यो गतिविधिले राष्ट्रपतिको मर्यादामाथि गम्भीर आँच पुर्‍याएको छ ।’

बैठकले सरकारले संसद्लाई छलेर असंवैधानिक रूपमा अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाएको छ । ‘प्रधानमन्त्री र उसको दलले संविधान मानेन, जबर्जस्ती ग¥यो भने आन्दोलन हुन्छ । नेपालमा आन्दोलनबाटै संविधानसभा र संविधान ल्याइएको हो,’ प्रमुख सचेतक खाँणले भने, ‘त्यस कारण असंवैधानिक, अलोकतान्त्रिक र संविधानको खिलाफमा गतिविधि गर्दै जानुभयो भने त्यसको विरोधमा कांग्रेसको नेतृत्वमा आन्दोलन हुन्छ, त्यो आन्दोलनले त्यस्ता शक्तिहरूलाई पाखा लगाउनेछ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७