उपत्यकाका अस्पतालमा अक्सिजन अभाव


२६ बैशाख २०७८, आईतवार
Oxygen 1

काठमाडौं, २६ बैसाख । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ । कुल ३३ शैंया आईसीयूमध्ये १४ शैंया भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय पनि आईसीयू र भेन्टिलेटर खाली हुँदैन ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको अवस्था जटिल हुँदै गएको जानकारी दिए । उनले भने, ‘अब त अक्सिजनसमेत अभाव हुन थालेको छ, यही अवस्था रहिरह्यो भने अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु हुन सक्छ ।’ बिरामीलाई निरन्तर अक्सिजन दिनुपर्ने भएकाले अहिले अक्सिजन अभाव भएको उनले बताए ।

‘एक सङ्क्रमितलाई दैनिक १० देखि १५ लिटर अक्सिजन आवश्यक पर्छ, अहिले अक्सिजन अभाव हुँदा बिरामीलाई बचाउन गाह्रो भएको छ’, डा. राजभण्डारीले भने । यस्तै वसुन्धरास्थित कान्तिपुर अस्पतालमा यतिखेर ५५ सङ्क्रमित उपचार गराइरहेका छन् । यो अस्पतालमा पनि अक्सिजनको अभाव छ ।

‘अक्सिजन अभावका कारण अन्य बिरामी भर्ना गर्नसक्ने स्थिति छैन, अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन व्यवस्थापनमा कठिन भइसकेको छ’, अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले भने ।

अक्सिजन नपाइकन सङ्क्रमितको मृत्यु हुने उनको भनाइ छ । पुल्चोकस्थित अल्का अस्पतालमा ६० जना सङ्क्रमित उपचाररत छन् । त्यहाँ पनि अक्सिजनको अभाव हुन थालेको छ । अस्पतालका अध्यक्ष कुमार थापाले अक्सिजन आपूर्ति गर्नेहरूलाई हारगुहार गर्दा समेत अक्सिजन ल्याउन नसकेको बताए । निजी अस्पतालको छाता सङ्गठन प्राइभेट अस्पताल एसोसिएसनका उपाध्यक्ष समेत रहेका थापाले अल्कालगायत अन्य निजी अस्पतालमा अक्सिजनका कारण थप सङ्क्रमित भर्ना गर्न सक्ने अवस्था नरहेको बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७