चीनले दिने ३५ सय थान अक्सिजन सिलिन्डर एक महिनाभित्र आइपुग्ने

पहिलो चरणमा ४ सय थान सिलिन्डर लिन सोमबार जहाज जाँदै


२६ बैशाख २०७८, आईतवार
oxygin china2021 05 09 06 19 49

काठमाडौं, २६ बैसाख । चीन सरकारले अनुदानमा नेपाललाई दिने ३५ सय थान अक्सिजन सिलिन्डर तीन चरणमा ल्याइने भएको छ । चार सय सिलिन्डर आगामी बुधबारभित्र र १६ सय सिलिन्डर जेठ दोस्रो सातामा काठमाडौं ल्याइने भएको हो । बाँकी १५ सय सिलिन्डर भने जेठ अन्तिममा मात्रै नेपाल आइपुग्नेछ ।

गत १४ वैशाखमा नेपालले चीन सरकारसँग २० हजार थान अक्सिजन सिलिन्डर र सय थान भेन्टिलेटर अनुदान सहयोग दिन अनुरोध गरेको थियो । तर, चीनले तत्काललाई तीन हजार पाँच सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिेलटर उपलब्ध गराउन सहमति जनाएको हो ।

चीनले दिने भनेका अक्सिजन सिलिन्डरमध्ये दुई हजार थान हवाईमार्गबाट र १५ सय थान स्थलमार्गबाट ल्याइने अर्थ मन्त्रालयको वैदेशिक सहयता समन्वय महाशाखाले जनाएको छ । त्यसमध्ये १० मे (२७ वैशाख) मा चीनले बेइजिङ एयरपोर्टमा चार सय थान सिलिन्डर र १० थान भेन्टिलेटर तयार गरिदिने जनाएको छ । बाँकी १५ सय थान भने चीनले आगामी २७ जेठभित्र रसुवा नाकामा ल्याई दिनेछ ।

पहिलो चरणको चार सय थान अक्सिजन सिलिन्डर ल्याउन नेपाल वायुसेवा निगमको एयरबस ३३० वाइडबडी जहाज सोमबार बेइजिङ जाँदै छ । पहिलो चरणमा निगमको जहाजले चार सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर लिएर आउने नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडलले बताए । ‘निगमले पाँच वटा उडानमार्फत दुई हजार थान सिलिन्डर ल्याउनेछ,’ उनले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३१ वैशाखभित्र चीनबाट अक्सिजन सिलिन्डर ल्याउने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री कार्यालयले चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर ल्याउने उल्लेख गरेको भए पनि चीनले भने ३५ सय थान मात्रै दिने भएको हो । चीनबाट सिलिन्डर ल्याउने जिम्मा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयलाई दिइएको छ । जसअनुसार नै चीनले नेपालाई दिने भनेको अनुदान सिलिन्डर तथा भेन्टिलेटर ल्याउन अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको अर्थ मन्त्रालयको चिनियाँ डेस्क हेर्ने उपसचिव डिबी क्षेत्रीले बताए ।

गत साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसहित पाँच दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीसँग भिडियो कन्फरेन्स गर्दै कोभिड– १९ को नियन्त्रण तथा रोकथाममा सघाउन ५० लाख आरएमबी सहयोग गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार छिमेकी चीनले तत्काललाई ३५ सय थान सिलिन्डर र १० थान भेन्टिलेटर दिन सहमति जनाएको उपसचिव क्षेत्रीले बताए । ‘चीनले जीवन रक्षामा सघाउन यो सहयोग गरेको हो,’ उनले भने, ‘थप सहयोगका लागि नियमित र निरन्तर छलफल चलिरहेकै छन् ।’

चीनबाट ४० लिटर क्षमताका स्टिलका सिलिन्डर आउने
चीनले नेपालाई ४० लिटर क्षमताका अक्सिजन सिलिन्डर दिनेछ । स्टिलबाट बनेका यी सिलिन्डरलाई (स्टिल सिमलेस सिलिन्डर) भनिन्छ । यो तुलनात्मक रूपमा हलुका, तर ‘हाई प्रेसर’को हुन्छ । हलुका र हाई प्रेसरको हुनु भनेको राम्रो हुने सरोकारवाला बताउँछन् ।
‘सुरुमा चीनले पठाएको स्पेसिफिकेसनअनुसार हाम्रो सिलिन्डरका भल्भसँग मिल्दोजुल्दो देखिएन, हाम्रो स्वास्थ्य मन्त्रालयले पठाएको भल्भमा मिल्ने सिलिन्डर उनीहरूसँग रहेनछ,’ क्षेत्रीले भने, ‘चीनले हाम्रो स्पेसिफिकेसनअनुसारको सिलिन्डर तत्काल उत्पादन गरेर पठाउने हो ।’

अरू देशसँग सहायता मागिँदै
सरकारले कोभिड– १९ को दोस्रो लहरको महामारीसँग जुध्न अन्य मुलुकसँग समेत सहायता मागेको छ । अर्थ मन्त्रालयमा बिहीबार विकास साझेदारसँग छलफल गरेर सहायताका लागि आग्रह गरेको हो । विकास साझेदारहरूले के–कस्तो आकस्मिक सहयोग चाहिएको हो त्यसको सूची मागेका छन् ।

फिनल्यान्ड, अस्ट्रेलिया, युरोपियन युनियनलगायत विकास साझेदारले सहयोग दिने वचन दिएको अर्थ मन्त्रालयका उपसचिव क्षेत्रीले बताए । ‘विकास साझेदारहरूले के–कस्तो मेडिकल सामग्री चाहिएको हो त्यसको सूची दिन भनेका छन्,’ उनले भने, ‘अर्थ मन्त्रालयले स्वास्थ्यसँगको समन्वयमा विकास सहायता परिचालनका लागि नेगोसिएसन गरिरहेको छ ।’

ढुवानी भाडा अढाई करोड
अक्सिजन सिलिन्डर एवं भेन्टिलेटर ल्याउन नेपाल वायुसेवा निगमलाई भाडाबापत दुई करोड ४७ लाख ८० हजार रुपैयाँ दिनुपर्ने भएको छ । निगमले प्रतिघन्टा १५ हजार डलरमा जहाज चार्टर गर्न लागेको हो ।

नियमतः निगमले १६ हजार डलरमा प्रतिघन्टा जहाज चार्टर गर्ने भए पनि मानवीय हिसाबले कम दरमा जहाज चार्टर लागेको पौडेलले जानकारी दिए । बेइजिङको एकतर्फी उडान सात घन्टाको हुने र दुईतर्फी उडान १४ घन्टाको हुनेछ । त्यसअनुसार १४ घन्टाको प्रतिघन्टा १५ हजार डलरका दरले कुल दुई लाख १० हजार डलर निगमलाई तिर्नुपर्नेछ ।

विशेषगरी सिलिन्डर ओसार्न ठूला र धेरै तौल भएका सामान ओसार्ने कार्गो जहाजको आवश्यकता पर्ने भएकाले ढुवानीमा समस्या देखिएको छ । नेपालकै जहाज पठाएर खेप–खेपमा सिलिन्डर ल्याउने या चीनकै कार्गो जहाजलाई भाडा तिरेर एकैपटकमा अलि धेरै सिलिन्डर ल्याउने भन्ने विषय टुंगो लागेको छैन ।

तर, पहिलो चरणको पहिलो खेप लिन भने निगमको जहाज सोमबार जानेछ । ‘एउटा खाली सिलिन्डर नै ७० किलो हुँदोरहेछ, त्यसैले एकपटकमा चार सय सिलिन्डर मात्रै ल्याउन सकिने रहेछ, कार्गो जहाजमा ल्याउनु र हाम्रोमा ल्याउँदा भाडा खासै फरक छैन, सरकारले जिम्मेवारी दिएमा ल्याउन तयार छौँ,’ पौडेलले भने ।

अक्सिजन सिलिन्डर खोज्न देशभरि प्रहरी परिचालन
कोरोना संक्रमित बिरामीको संख्यासँगै अक्सिजनको माग बढेपछि यसको व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको छ । शनिबार विभिन्न जिल्लामा प्रहरीले अक्सिजनका खाली सिलिन्डर संकलन गरेको छ ।

कतिपय स्थानमा समयमा अक्सिजन नपाएर बिरामीको मृत्यु हुन थालेपछि प्रहरीले विभिन्न क्षेत्रमा प्रयोग भइरहेका अक्सिजन सिलिन्डर संकलन गर्न थालेको हो । मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीसँग रहेका अक्सिजन ग्यास सिलिन्डर पछि फिर्ता गर्ने गरी संकलन गरी प्रहरीले ग्यास उद्योग तथा अस्पतालमा बुझाएको छ ।

अक्सिजनका खाली सिलिन्डर बुझाउन गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ । विभिन्न निकायसँग सहकार्य गरी प्रहरीले सबै जिल्लामा अक्सिजन सिलिन्डरको खोजी र संकलन थालेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७