उपत्यकामा आइसियु अभाव, पोखरा र झापा लगिए बिरामी


२६ बैशाख २०७८, आईतवार
oxygen 1

काठमाडौं, २६ बैसाख । काठमाडौं उपत्यकाका अस्पतालमा आइसियु अभाव भएपछि संक्रमितहरू हेलिकोप्टरबाट उपत्यकाबाहिर जाने गरेको पाइएको छ ।

शनिबार बाग्लुङका ४३ वर्षीय पुरुष उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टरबाट पोखरास्थित चरक अस्पताल पुगेका छन् । कोरोना संक्रमणका कारण शरीरमा अक्सिजनको मात्रा घटेको र आइसियु नपाएर उनले पोखरा जानुपरेको हो । उपत्यकाका निजी र सरकारी दुवै अस्पालमा व्यापक खोजी गर्दा पनि आइसियु र बढी क्षमताको अक्सिजन नपाएपछि पोखरा जानु परेको उनकी पत्नीले बताएकी छिन् । पोखरा जाने क्रममा खराब मौसमका कारण बीचमा दुई ठाउँमा रोकेर मात्र उनीहरू पोखरा पुगेका थिए ।

‘भाग्यले बाँच्यौं, बीचमै झन्डै मरिएन,’ उनले हेलिकोप्टरको यात्रा सम्झिँदै भनिन् । आइसियु नपाएपछि शनिबारै अरू दुई बिरामी उपत्यकाबाहिर गएको कोभिड उपचारमा संलग्न भोल्युन्टियर गु्रपले जनाएको छ । उनीहरूले आइसियु र शय्या नपाएका बिरामीका लागि खोजी गरिदिने काम दुई सातादेखि गर्दै आएका छन् । भोल्युन्टियर गु्रपकी सदस्य आश्विनी पुडासैनीका अनुसार यो गु्रपमा कुन अस्पतालमा कति आइसियु र शैंया छ भन्नेबारे छिटो सूचना आउने व्यवस्था भएकाले उनीहरूले यस्ता आपतमा परेका बिरामीलाई सेवा दिने गरेको बताइन् । राजधानीका केहि अस्पतालमा आइसियु भए पनि चिकित्सक नभएकाले सेवा पाउन नसकिएको बिरामीका आफन्तले बताएका छन् ।

४–५ दिनको अवधिमा हेलिकोप्टर र एम्बुलेन्सबाट झापास्थित बिएन्डसी अस्पतालमा १० जना बिरामी आइसियुका लागि पुगेको सो अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बताए । तीमध्ये शनिबारै दुईजना हेलिकोप्टरबाट बिएन्डसी अस्पताल पुगेको प्रसाईंले जानकारी दिए । यस्ता बिरामी ओसार्नका लागि मनाङ, सिम्रिक र पावर डाइनोस्टिक हेलिकोप्टर सञ्चालनमा रहेका छन् । राजधानीबाट यसरी उपत्यकाबाहिर बिरामी जान लागेको ४÷५ दिन भएको अस्पतालहरूले जनाएका छन् ।

टिचिङ अस्पतालले यो अवधिमा कोभिड वार्ड विस्तार गरी ३ सय शैंया पु¥याएको छ । त्यसैगरी अन्य अस्पतालले पनि यो अवधिमा धेरै शैंया विस्तार गरिसकेका छन् । श्वास–प्रश्वासमा गम्भीर समस्या आएका बिरामीको हकमा हाल रहेका अक्सिजन प्लान्टले धान्न नसकेपछि बिरामीलाई भने जति सेवा दिन नसकेको अस्पतालका सूचना अधिकारी रामप्रसाद अधिकारीले जनाए ।

उनका अनुसार टिचिङमा पाँच सय लिटर प्रतिसेकेन्डका दुईवटा र १ हजार लिटर प्रतिसेकेन्डका गरी तीनवटा अक्सिजन प्लान्ट सञ्चालनमा थिए । तीमध्ये दुईवटा महिना दिनअघि नै बिगे्रकाले समस्या उत्पन्न भएको हो । हाल सामान्य अवस्थाका बिरामीका लागि मात्र धान्न सक्ने अक्सिजन प्लान्ट छन् । बढी फ्लोमा अक्सिजन दिनेबित्तिकै पटक–पटक अक्सिजन बिग्रिने समस्या छ ।

पुरानो अर्को अक्सिजन प्लान्ट मर्मतका लागि फ्रान्सबाट आउने सामान लकडाउनका कारण रोकिएपछि समस्या परेको हो । अस्पतालले विकल्पस्वरूप २० टनको लिक्विड ट्यांकी जमिनमुनि राख्ने प्रक्रिया अघि बढाएको छ । यो सञ्चालनमा आउन थप एक साता लाग्छ । यो ट्यांकी बनेपछि बिरामीलाई राहत मिल्ने अधिकारीले बताए । साथै शनिबारै काठमाडौं महानगरपालिकाले थप १० वटा भेन्टिलेटर टिचिङ अस्पताललाई दिएको छ । योसहित टिचिङमा ६० वटा भेन्टिलेटर सञ्चालित हुनेछन् । हाल ३ सय वटा शैंया कोभिड उपचारका लागि रहेका र थप विस्तार गर्ने प्रक्रियामा रहेको अस्पतालले जनाएको छ ।

राजधानीको अर्को ठूलो कोभिड अस्पताल वीरले पनि अक्सिजन र आइसियु पर्याप्त दिन नसक्दा बिरामी उपत्यकाबाहिर जानुपरेको बताइएको छ । सामान्य अवस्थामा भन्दा दैनिक १० गुणा बढी अक्सिजन चाहिने ८० प्रतिशत बिरामी भर्ना भएकाले अस्पतालले धान्न नसकेको वीरका फिजिसियन डा. धु्रव गैरेले बताए । उनका अनुसार पहिलो लहरको कोरोना संक्रमणको तुलनामा दोस्रो लहरका सबै बिरामी अक्सिजन चाहिने अवस्थाका मात्र भर्ना भएकाले पनि अस्पतालहरूले धान्न नसकेका हुन् ।

वीर अस्पतालले नयाँ भवनमा थप ३ सय ५० शय्या सञ्चालनमा ल्याउँदै छ । थपसहित ५ सय ५० क्षमताको कोभिड अस्पताल सञ्चालनमा आउने सम्भावना देखिए पनि अक्सिजन पर्याप्त हुने स्थिति छैन । अक्सिजन अभाव भएपछि शनिबार उपत्यकाका चार निजी अस्पताल हेल्पिङ ह्यान्डस, दीर्घायु गुरु, मेडिकेयर र नेपाल–भारत मैत्री अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसक्ने जनाएका छन् । पे्रस विज्ञप्ति जारी गरी अस्पतालहरूले अब कोरोना संक्रमितको उपचार गर्न नसक्ने बताएका हुन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७