सामुहिक राजीनामाको तयारीमा नेपाल–खनाल पक्षका सांसद, ओलीलाई आज अन्तिम मौका


२६ बैशाख २०७८, आईतवार
Madhav jhalanath1

काठमाडौं, २६ बैसाख । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सबै सांसद सामुहिक राजीनाको तयारीमा पुगेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका सांसदहरुको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सोमबार संसदबाट विश्वासको मत लिने सम्भावना छ, त्यसअघि नै सकभर सबै, नभए ओलीलाई विश्वासको मत नपुग्ने र अरु दलको सरकार बनाउन सांसद संख्या पुग्ने गरी राजीनामा दिने एक नेताले जानकारी दिएका छन् ।

‘ओलीजी सच्चिने संकेत गर्नु भएन, उहाँले न पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थामा फर्काउनु भयो न त स्वेच्छाचारी कदम सच्याउने र आत्मालोचना गर्ने काम नै गर्नु भएको छ, यस्तो अवस्थामा हामी जस्तोसुकै कदम चाल्न बाध्य छौं’ नेता भीम रावलले भने ।
सर्वोच्चको फैसला अनुसार ओलीले पार्टी चलाउने सम्भावना निकै कम रहेकाले आफूहरु योजनाबाट पछि हट्ने सम्भावना पनि नदेखिएको रावलको भनाइ छ ।

अध्यक्ष ओलीले माधव नेपालसहितका नेतालाई कारबाही गरिसकेका छन् भने महाधिवेशनबाट निर्वाचित भएर आएका पदाधिकारी हटाइसकेका छन् । माधव नेपाल समूहले पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन माग गर्दै आएको छ ।
सर्वाेच्च अदालतको फैसलाअनुसार नेकपा एमालेको संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन अध्यक्ष ओली तयार नभए आज (आइतबार) साँझ वा भोलि सोमबार बिहानसम्म सामुहिक राजीनामा दिने तयारी नेपाल पक्षका सांसदले गरेका हुन् ।

शनिबार साँझ काठमाडौंमा सम्पन्न माधवकुमार नेपाल–झलनाथ खनाल समूहका सांसदको बैठकले आफ्नो अडानबाट फर्किन ओलीलाई २४ घण्टा समय (डेडलाइन) दिएको एक नेताले जानकारी दिएका छन् । भोलि वैशाख २७ गते बस्ने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै छन् । त्यसबेला कर्णालीमा जस्तै फ्लोर–क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले बरु त्यसअघि नै सामुहिक राजीनामा दिनु उपयुक्त हुने निष्कर्षमा नेपाल पक्षका सांसद पुगेका हुन् ।

शनिबार बसेको नेपाल पक्षका सांसदको बैठकले पार्टी एकताका लागि अहिलेसम्म भएका भेटवार्ताको समीक्षा गरेको थियो । यस क्रममा अध्यक्ष ओली, आफ्नो अडानबाट टसको मस नभएकाले अब मिल्ने सम्भावना नरहेको निष्कर्ष बैठकले निकालेको हो । नेपाल समूहमा ३५ सांसद रहेको बताइन्छ ।

ओलीले कारबाही फिर्ता र पार्टीलाई पहिलेकै अवस्थामा फर्काउन अस्वीकार गर्दै आएका छन् । माधव नेपाल समूहका सांसदले राजीनामा दिएमा सजिलै अर्को सरकार बन्ने सम्भावना देखिएको छ । अहिले प्रतिनिधिसभामा २६७ सांसद संख्या कायम छ । तीमध्ये नेपाल–खनाल समूहका २० जनाले मात्रै राजीनामा दिएमा पनि २४७ सदस्य कायम रहनेछ । त्यसपछि सरकार बन्न १२४ जना सांसद भए पनि पुग्छ ।
नेपाली कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ गरेर १०९ सांसद छन् । जसपाका पनि धेरैजसो सांसदले कांग्रेस–माओवादीलाई साथ दिने भएकाले नयाँ सरकार बन्ने सम्भावना बलियो भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७