फुटको संघारमा एमाले : २० सांसदले नेता नेपाललाई बुझाए राजीनामाको हस्ताक्षर


२६ बैशाख २०७८, आईतवार
KP oli And madhav nepal 5 1536x762 1 1

काठमाडौं, २६ बैसाख । लगातारको छलफल र वार्ताको वावजुद पनि सत्तारुढ नेकपा एमाले फुटको संघारमा पुगेको छ । पटक–पटकको छलफल र वार्ता ठोस सहमतिमा नपुगेपछि नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामुहिक राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरूले बताएका छन् । सोही अनुसार नेपाल पक्षका २० सांसदले शनिबार नै राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् । नेपाल पक्षका सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् ।

प्रधानमन्त्री ओलीले भोलि (बैसाख २७गते) संसदबाट विश्वासको मत लिने तयारी गरेसँगै विभिन्न चरणमा भएका छलफलमा ठोस सहमति नभएपछि खनाल नेपाल पक्षका सांसदहरूले सामुहिक राजीनामा बुझाउने भएका हुन् । सामुहिक राजीनामाबारे अन्तिम छलफल गर्न आज (आइतबार) नेपाल–खनाल पक्षको स्थायी कमिटी बस्दैछ । खनाल–नेपाल समुहका नेताहरूले पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थमा फर्काउन आफूहरूले गरेको आग्रह नमानेकाले राजीनामा दिएर पार्टीभित्रै संघर्ष गर्नुको विकल्प नभएको बताएका छन् ।

सर्वोच्चको फैसला अनुसार प्रधानमन्त्री ओलीले पार्टी चलाउने सम्भावना निकै कम रहेकाले आफूहरू योजनाबाट पछि हट्ने सम्भावना पनि नदेखिएको नेताहरूले बताउँदै आएका छन् । खनाल–नेपाल समूहका सांसदले राजीनामा दिएमा सजिलै अर्को सरकार बन्ने सम्भावना देखिएको छ ।

अहिले प्रतिनिधिसभामा २६७ सांसद संख्या कायम छ । तीमध्ये खनाल–नेपाल समूहका २० जनाले मात्रै राजीनामा दिए पनि २४७ सदस्य कायम रहनेछ । त्यसपछि सरकार बन्न एक सय २४ जना सांसद भएपनि पुग्छ । नेपाली कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ गरेर १०९ सांसद छन् । जसपाका पनि धेरैजसो सांसदले कांग्रेस–माओवादीलाई साथ दिने भएकाले नयाँ सरकार बन्ने सम्भावना बलियो भएको छ ।

नेपाल–खनाल पक्षका सांसदको प्रकार
प्रत्यक्ष
झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, कृष्णलाल महर्जन, विरोध खतिवडा, गणेश पहाडी, दीपकप्रसाद भट्ट, भवानी खापुङ, जयकुमार राई, पवित्रा निरौला, नारायण खतिवडा, जीवनराम श्रेष्ठ, हिरा केसी, सोमप्रसाद पाण्डे, ध्रुवबहादुर शाही र राजबहादुर बुढा ।

समानुपातिक

समानुपातिकतर्फ रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, पुष्पा कर्ण, कल्याणी खड्कालगायत १२ जना छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७