संवैधानिक परिषदको बैठक बस्दै, देउवा र सापकोटा नजाने


प्रकाशित मिति : May 9, 2021

काठमाडौं, २६ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीको आश्वानमा आज (आइतबार) संवैधानिक परिषदको बैठक बस्दै छ । बिहान नौ बजे बस्ने बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुनेछ ।

हाल लोकसेवामा सबै पदाधिकारी रिक्त छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खाली छन् । संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गर्दछ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरिन्छ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन् ।
सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परिषदको बैठकमा सहभागी नहुने बताइसकेका छन् । देउवाले परिषदका अरु सदस्यहरुलाई पनि बैठकमा नजान आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि संवैधानिक परिषदको बैठकको विरोध गरेका छन् ।

संसदमा अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा एक दिन अगाडि परिषदको बैठक बोलाएपछि विरोध हुँदै आएको छ । आफूअनुकूल नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराएको भन्दै प्रधानमन्त्री ओली आलोचित छन् । बहुमतको आधारमा नियुक्तिको सिफारिस गर्न सकिने व्यवस्थासहित अध्यादेश जारी गरिएको छ ।

यदि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा परिषदको बैठकमा जाने कि नजाने भन्ने एकिन छैन । यदि उनी सहभागी भए परिषदको बैठकमा बहुमत पुग्छ । त्यसैले नियुक्तिको सिफारिस सम्बन्धी निर्णय प्रधानन्यायाधीशको उपस्थिति र अनुपस्थितिमा भर पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्