कोरोनाबाट बाँकेमा थप पाँच जनाको मृत्यु


२६ बैशाख २०७८, आईतवार
korona death

बाँके, २६ बैसाख । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप पाँच जनाको ज्यान गएको छ । शनिबार राति र आइतबार बिहान गरी ४ जना पुरुष र एक जना महिलाको ज्यान गएको बाँकेका कोभिड सम्पर्क व्यक्ति तेज वलीले जानकारी दिए ।

मृत्यु हुनेहरूमध्ये बाँकेका ३ जना, कैलालीका एक जना र दाङका एक जना छन् । मृतकहरू मध्ये नेपालगन्ज उमनपा १५ का ७३ पुरुष वैशाख २१ गते कोरोना संक्रमण देखिएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार राति ८ बजे ज्यान गएको हो ।
त्यस्तै, भेरी अस्पतालमा नै उपचाररत ५३ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई १६ गते नै भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान साढे २ बजे निधन भएको अस्पतालले जनाएको छ ।

लम्की चुहा १ का ४३ वर्षीय पुरुषको पनि आइतबार बिहान नै नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको छ । उनको वैशाख २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या आएपछि २० गते नै अस्पताल भर्ना गरिएको थियो ।

उता, तुलसीपुर ६ दाङ्गका ४१ वर्षीय पुरुषको पनि आइतबार निधन भएको छ । वैशाख १२ गते कोरोना संक्रमण भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि २२ वैशाखमा अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार बिहान २ बजे निधन भएको हो । नेपालगञ्ज उमनपा ११ का ४३ वर्षीय पुरुषको आइतबार बिहान ६ बजेतिर निधन भएको छ । वैशाख १८ मा कोरोना संक्रमण पुष्टि भएका उनलाई २१ वैशाखमा अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७