बहिष्कारकै बीच संवैधानिक परिषद बैठक शुरु


२६ बैशाख २०७८, आईतवार
Constitutional Council Meeting

काठमाडौं, २६ बैसाख । बहिष्कारकै बीच संवैधानिक परिषदको बैठक शुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी छन् ।

बैठकले संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति सिफारिस गर्ने सम्भावना छ । हाल लोकसेवामा पदाधिकारीविहीन छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खाली छन् ।

संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गर्दछ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरिन्छ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

सभामुख सापकोटा र विपक्षी दलका नेता देउवा बैठक बहिष्कार गर्दै सहभागी नभएका हुन् । यसअघिका बैठकमा पनि सबै सदस्य उपस्थित नभई दिँदा अप्ठेरो परेपछि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको बैठकसम्बन्धी अध्यादेश जारी गरी बहुमत सदस्य सहभागी भएपछि बैठक बस्न सक्ने बनाएका हुन् ।

जसमा भनिएको छ, ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।’ यसै आधारमा प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता तथा सभामुख सहभागी नभए पनि संवैधानिक परिषदको बैठक राखेका हुन् ।
गत मंसिर ३० गते पनि प्रधानमन्त्री ओलीले यस्तै बैठक राखेर संवैधानिक निकायका ३४ पदमा नियुक्तिको सिफारिस गराए भने बीचमा (गत पुस ५ गते) प्रतिनिधि सभा विघटन गरिएकाले संसदीय सुनुवाइ नै नगरी उनले ती नियुक्ति सदर गराएका थिए ।

जसविरुद्ध सभामुख अग्नि सापकोटाले अदालतमा हालेको मुद्दा विचाराधीन नै छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको बैठक राखेर संवैधानिक आयोगमा रिक्त पदपूर्ति गराउन लागेका हुन् । भोलि वैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने कार्यक्रम छ । त्यसमा बहुमत नपुगे उनले पदबाट राजीनामा दिनुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७