२० दिने शिशुले जिते कोरोना, निको भएर फर्किए घर


२६ बैशाख २०७८, आईतवार
1620535090 5142 WDr4dYqTRZ

काठमाडौं, २६ बैसाख । भारत चण्डीगढकी सन्दीप कौर अप्रिलको सुरुवातमै आमा बनिन् । बाबु गुरदीप सिंह र आमा सन्दीप निकै खुसी थिए । उनीहरुले छोराको नाम ‘सुखदीप’ राखे । तर, जन्मिएको केवल २० दिनमै छोरा कोरोनाबाट संक्रमित भए । यी शिशुलाई निकै ज्वरो आएपछि अस्पताल भर्ना गर्नुपर्‍यो ।

नवजात शिशुलाई सन्दीपले न दूध पिलाउन सकिन्, न त छातीमै टाँसेर राख्न सकिन् । छोराको जिन्दगीका लागि प्रार्थना गर्नुबाहेक अरु उपाय थिएन । १० दिनपछि शुक्रबार यी नवजात शिशु पञ्जाव इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिआईएमएम) जालन्धरबाट डिस्चार्ज भएका छन् । यतिबेला बाबु गुरदीप भन्दै थिए, ‘भगवानले हाम्रो प्रार्थना सुन्नुभयो ।’ पञ्जाव कपूरथलाका गुरदीपका अनुसार छोरामात्रै संक्रमित थिए, तर उनकी पत्नी संक्रमित थिइनन् । त्यसैले आमा र छोरा केही समयका लागि छुट्टिनुपर्‍यो ।

अहिले आरटी र पिसिआरसहित सबै स्वास्थ जाँच गरिएपछि सुखदीपलाई डिस्चार्ज गरिएको छ र आमा सन्दीपले फेरि काखमा लिएकी छिन् । ‘ईश्वरको कृपाले मेरो नाति स्वस्थ भएर घर फर्किएको छ । डाक्टरहरुले उसको निकै राम्रो हेरचाह गरेका छन्, त्यसका लागि धन्यवाद,’ सुखदीपकी हजुरआमा कुलविन्दर कौरले भनिन् ।

सुखदीपको हेरचाहमा खटिएकी नर्सिङ स्टाफ पनि यी शिशुले कोरोना जितेको देखेर निकै खुसी थिए । हेरचाहमा खटिएकी नर्स रुबीले भनिन्, ‘हामीले यी बच्चाको राम्रोसँग हेरचाह गर्‍यौं । एक शिशुलाई यति ठूलो पीडाबाट गुज्रिएको देख्नु निकै मुस्किल थियो । आमा साथमा नभएकाले सुखदीपलाई चम्चाले दुध खुवाउने गरिएको थियो ।’

उपचारमा संलग्न बाल चिकित्सक डाक्टर जतिन्द्र सिंहका अनुसार शिशुलाई अस्पताल भर्ना गरिएका बेला निकै ज्वरो आएको थियो । ‘शिशुको उपचार हाम्रा लागि चुनौतीपूर्ण थियो । योभन्दा धेरै कठिन उनका माता–पितासँग परामर्श गर्नु थियो, तर उनीहरुले अवस्थालाई गम्भीरताका साथ सम्झिए र बच्चाको उपचारमा पूर्ण सहयोग गरे,’ सिंहले भने । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७