अक्सिजन कार्यदल गठन : अक्सिजन चाहिए यी नम्बरमा फोन गर्नुहोस्


२६ बैशाख २०७८, आईतवार
oxygen 1

काठमाडौं, २६ बैसाख । सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज रुपमा उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् ।

कार्यदलमा गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एक–एक चिकित्सक रहेका छन् । कार्यदलले अस्पतालमा सङ्क्रमितका लागि अक्सिजन उपलब्ध गराउने छ ।

नेपालमा अहिले अक्सिजन सिलिण्डर छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ । सरकारले अक्सिजन अभाव हुन नदिन चीन सरकारबाट खाली अक्सिजनका २० हजार सिलिण्डर ल्याउन थालेको छ ।

अक्सिजन चाहिए यी नम्बरमा फोन गर्नुहोस्
सर्वसाधारणलाई कोभिड–१९ महामारीमा कुनै समस्या भए केन्द्रले तीन हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार पाण्डेका अनुसार सर्वसाधारणलाई ०१–४२७१७३०, ०१–४२८६६६० र टोलफ्री नम्बर ११४० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७