विश्वासको मतका लागि आज मतदान, धरापमा प्रधानमन्त्री ओलीको पद


२७ बैशाख २०७८, सोमबार
KP Sharma oli 1 1

काठमाडौं, २७ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दै छ ।

शुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ । अहिलेको दलहरुको गठबन्धन हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सक्दैनन् । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ । ४९ सांसद भएको माओवादी केन्द्रले पनि हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन ।

संसदको अंकगणितमा निर्णायक ३२ सांसद भएको जसपा थियो । जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ । महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओलीप्रति लचक भए पनि जसपाले ह्वीप जारी नगरेर आफ्ना सांसदहरुलाई स्वविवेकले मतदान गर्न सक्ने अधिकार दिएको छ ।

एमालेले ह्वीप जारी गर्दै आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । यद्यपि एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्षसमेत ओलीको विपक्षमा छ । माधव–झलनाथ पक्षका समेत एमालेका सबैले ओलीलाई मत दिए पनि सरकार टिकाउन थप १५ मत अपुग हुने आंकलन गरिएको छ ।

यस क्रममा उनले बहुमत ल्याए प्रधानमन्त्री पदमा निरन्तरता पाउँछन् भने बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ ।

यसैबीच आफ्नै पार्टी नेकपा एमालेको असन्तुष्ट पक्ष माधवकुमार नेपाल निकट सांसदले प्रधानमन्त्री ओलीलाई आफूहरूले भनेअनुसार पार्टीलाई २०७५ जेठ २ अर्थात् माओवादी केन्द्रसँग एकताभन्दा अघिको अवस्थामा फर्काउन राजी नभएर सामुहिक राजीनामा दिने बताइसकेका छन् । त्यसका लागि उनलाई अहिले बिहान ९ बजेसम्मको अल्टिमेटम दिएका छन् ।

विश्वासको मत माग्नुअघि सहमति भएन र नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिए भने प्रधानमन्त्री ओलीलाई बहुमत नपुग्ने निश्चित छ । त्यसपछि उनले पदबाट राजीनामा दिनुपर्नेछ ।

ओलीलाई बिहान ९ बजेसम्मको अल्टिमेटम
नेकपा–एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिको ठोस प्रस्ताव ल्याउन आज (सोमबार) बिहान ९ बजेसम्मको समय दिएको छ ।

नेपाल पक्षका सांसदले हिजै (आइतबार) राजीनामा दिने तयारी गरेको थियो । तर ओली पक्षको अनुरोधपछि उनीहरूले लामो छलफलपछि सहमतिका लागि आज बिहानसम्म पर्खने निर्णय गरेका हुन् ।

‘जेठ २ गतेको पार्टी संरचनामा फर्किने र सहमतिमा पार्टी सञ्चालन गर्ने मुख्य दुई विषयमा सहमति भयो भने हामी पक्षमा मतदान गर्छौं,’ एमाले सचिव योगेश भट्टराईले भने, ‘सहमति नभए राजीनामा दिने निर्णय भएको छ ।’ यस विषयमा आज ‘फाइनल’ हुने एमाले सचिव भट्टराईको दाबी छ । त्यसका लागि आज बिहान साढे ९ बजे नेपाल पक्षका सबै सांसदलाई सिंहदरबारमा बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७