म्यान्मारका सेनाले पक्राउ गरेका कवि खेत थीको शरीरको अङ्ग निकालेर हत्या


२७ बैशाख २०७८, सोमबार
myan

काठमाडौं, २७ बैसाख । म्यान्मारका सेनाले नियन्त्रणमा लिएका कवि खेत थीको मृत्यु भएको छ । सैन्य शासनको विरोध गरेको भन्दै हालै उनलाई सेनाले नियन्त्रणमा लिएका थिए । आइतबार खेत थी बिरामी भएको भन्दै सेनाले उनका परिवारलाई अस्पतालमा भेट्न बोलाएका थिए ।

खेत थीका श्रीमतीका अनुसार उनको शरीरको अङ्ग निकालिएको थियो । सेनाले नियन्त्रणमा लिएसँगै खेत थीको हत्या भएको हो । ४५ वर्षका खेत थीले जुन्ता शासकको आलोचना गर्दै भर्खरै फेसबुकमा लेखेका थिए, ‘उनीहरुले टाउकोमा गोली हानिरहेका छन् । तर उनीहरुलाई यो थाहा छैन कि क्रान्ति मुटुबाट आउँछ ।’

फेसबुकमा यस्तो स्टाटस लेखेसँगै खेत थीसँगै उनका श्रीमतीलाई पनि सोधपुछ केन्द्रमा सेनाले लगेका थिए । तर श्रीमतीलाई छाडेर सेनाले खेत थीलाई भने त्यहीं राखेका थिए । त्यसको केही दिनमै सेनाले खेत थीको मुटुमा समस्या भएको बताएका थिए । तर परिवार अस्पताल पुग्दा खेत थीको शरीरका भित्री अङ्गहरु निकालिएको देखिएको हो ।

कवि खेत थी म्यान्मारका सैन्य शासन लागू भएयता मारिने तेस्रो कवि हुन् । उनी अर्का कवि के जा विनका साथी थिए । यसअघि के जा विनलाई सेनाले मोनीवाको प्रदर्शनमा मार्च महिनामा गोली हानी हत्या गरेका थिए ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार म्यान्मारका सैन्य शासन लागू भययता ७८० भन्दा सर्वसाधारण सेना तथा प्रहरीको गोलीको शिकार भएका छन् । म्यान्मारमा जारी सैन्य दमनको विश्वभरबाट विरोध भइरहँदा म्यान्मारका सेनाले सैन्य ‘कू’ गरिनु देशकै हितको लागि भएको बताउँदै आएका छन् ।

उनीहरुले एक वर्षपछि आम निर्वाचन गराएर मात्र चुनाव जित्ने पार्टीलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । लोकतान्त्रिक नेतृ आङ साङ सूचीको पार्टीले गत नोभेम्बरको चुनावमा धाँधली गरेर बहुमत हासिल गरेको भन्दै सेनाले सूची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य कू गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७