ओलीले विश्वासको मत नपाए कांग्रेस–माओवादीले सरकार गठनमा दाबी गर्ने


प्रकाशित मिति : May 10, 2021

काठमाडौं, २७ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने भएपछि कांग्रेस र माओवादीबीच धारा ७६ को उपधारा २ अनुसार सरकार गठनमा दाबी गर्ने समझदारी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतबीच संसद बैठक शुरु हुनु केहीबेरअघि कांग्रेस संसदीय दलमा भएको छलफलमा यस्तो समझदारी बनेको माओवादी नेता वर्षमान पुनले बताएका छन् ।

प्रधानमन्त्रीको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने दुवै दलको यथावत निर्णय भएकाले विश्वासको मत नपाएपछि कांग्रेस र माओवादीलगायत दलले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनमा दाबी गर्ने समझदारी भएको नेता पुनले बताएका छन् ।
बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पनि ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपतिले धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार निर्माण आह्वान गर्ने र त्यसमा दावी गर्ने समझदारी भएको र बाँकी निर्णय त्यसपछिका बैठकले गर्ने बताए ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । यस्तै छलफलमा माधव नेपाल पक्षको निर्णय एक स्टेप अगाडि रहेको विश्लेषण गरिएको पुनले बताएका छन् । एमालेको खनाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत पनि नहाल्ने र सांसद पदबाट पनि राजीनामा नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्