तटस्थ बस्नु कायरता प्रदर्शन गर्नु हो : डा. भट्टराई


२७ बैशाख २०७८, सोमबार
baburam bhattarai

काठमाडौं, २७ बैसाख । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक परिस्थितिमा तटस्थ बस्नु भनेको कायरता प्रदर्शन गर्नु भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका डा. भट्टराईले ट्वीटरमार्फत भनेका छन्, ‘ठीक र बेठीक बीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठिकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो ।’ कहिले बेठिकहरू बीचमा नै संघर्ष पर्दा बढी बेठिकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म भन्दै उनले अहिले ओली प्रवृत्ति बेठिकमध्ये बढी बेठीक रहेकाले त्यसलाई विरोध गर्न आह्वान गरेका छन् ।

हिजो बसेको जसपा नेपालको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । यद्यपि पक्षमा मतदान गर्ने कि विपक्षमा गर्ने वा तटस्थ बस्ने त्यसका लागि सांसदलाई स्वतन्त्रता दिएको छ । जसपा नेपाल अध्यक्ष महन्थ ठाकुर पक्षका प्रतिनिधिसभा सदस्य प्रमोद साहले आफूहरु तटस्थ बस्ने बताए । आफूहरुले राखेको माग कसैले पुरा नगरेको कारण तटस्थ बस्ने निर्णय गरेको उनको भनाइ छ । ‘हाम्रा लागि माओवादी, एमाले र कांग्रेस उस्तै उस्तै हो, कसैले पनि माग पुरा गरेन त्यही भएर तटस्थ बसेका हौं,’ उनले भने ।

जसपा नेपालले तटस्थ बस्ने निर्णय गरेको कारण मधेशी जनता खुशी व्यक्त गरेको उनले बताए । जसपा नेपालका अर्का कार्यकारिणी सदस्य सन्तोष मेहताले इतिहासले जसपालाई सरकार निर्माणको चाबी दिइएको बताउँदै यस परिस्थितिमा पदलोलुपता कुनै एक पक्षमा नलागी तटस्थ रहनुले जसपालाई राष्ट्रिय सहमतिको नेतृत्व प्रदान गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओलीको प्रतिगामी कार्यभन्दा कयौं गुणा प्रतिगामी १६ बुँदे हस्ताक्षरकर्ताहरु भएको तथा त्यस प्रतिगमन विरुद्धको आन्दोलनमा कयौं गुणा बढी जनधनको क्षति भएको उनको भनाइ छ । ‘ओलीको प्रतिगमनलाई न्यायालयले सच्याइदियो तर ०७२ को प्रतिगमन अझै सच्चिएको छैन । तर ओली प्रतिगमनको बहानामा १६ बुँदेको प्रतिगमनलाई ढाकछोप गर्ने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन् । जसपा सांसदका लागि आज अग्नि परीक्षा हो, पार्टीको ह्वीप बिना कसले कस्ता निर्णय गर्छन् त्यो हेर्न बाँकी छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७