तीन दिनभित्र बहुमतको नयाँ सरकार गठन गर्न राष्ट्रपतिद्वारा आहृवान


२७ बैशाख २०७८, सोमबार
bidhya bhandari

काठमाडौं, २७ बैशाख । प्रतिनिधि सभाबाट विश्वासको मत नपाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरू गरेकी छन्।

प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।

सोमबार राष्ट्रपतिको कार्यालय शितलनिवासले विज्ञप्ती प्रकाशन गर्दै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई दुई वा बढी दलको समर्थनमा बहुमतको प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आव्हान गरिएको हो।

राष्ट्रपति भण्डारीले समय सीमाभित्र प्रतिनिधिसभाको बहुमत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गर्दै दलहरूले प्रस्ताव गरेमा त्यसरी प्रस्तावित सांसद्लाई प्रधानमन्त्री नियुक्त गर्नेछिन्। यसरी नियुक्त भएको प्रधानमन्त्रीले एक महीनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ।

तर, राष्ट्रपतिले दिएको समय सीमाभित्र प्रतिनिधि सभाको कुनै पनि सदस्यले आफूले बहुमत प्राप्त गर्नसक्ने आधारसहित दावी गर्न सकेन भने राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।

संविधानको उक्त धारामा दुई वा बढी दलको समर्थनमा कुनै सांसद् प्रधानमन्त्री नियुक्त हुन नसकेमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ। यसरी नियुक्त भएको प्रधानमन्त्रीले एक महीनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ।

Nepal President office

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७