जनमोर्चा सांसद थापाले साथ नदिंदा गण्डकीमा विपक्षी गठबन्धन सरकार बनाउन असफल


२८ बैशाख २०७८, मंगलवार
sarkar gandaki

पोखरा, २८ बैसाख । राष्ट्रिय जनमोर्चाका एक सांसदले सहयोग नगरेपछि गण्डकी प्रदेशमा विपक्षी गठबन्धन सरकार बनाउन असफल भएको छ । सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई नसघाउने भएको जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए ।

उनले साथ नदिने भएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बहुमत पुग्दैन । बहुमतको लागि ३१ सांसद चाहिनेमा उनले मत नहाल्दा ३० सांसद मात्र पुग्छन् । जनमोर्चाका बाँकी दुई सांसद खिमविक्रम शाही र पियारी थापाले हस्ताक्षर संकलन गरेका थिए । अब गण्डकीमा फेरि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नै दोहिरिने संकेत देखिएको छ । उनले आइतबार पदबाट राजीनामा दिएका थिए ।

बुधबार अपराह्न ४ बजेसम्म नयाँ सरकार गठन गर्न आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी थिइन् । अन्तिम घडीसम्म पनि जनमोर्चाका सांसद कृष्ण थापाको साथ लिन नसकेपछि विपक्षी गठबन्धनले गुरुङलाई विस्थापित गर्न नसक्ने भएको हो ।

माओवादी केन्द्रका नेता तथा सांसद दिपक कोइरालाले जनमोर्चा सांसद कृष्ण थापाका कारण अब एक महिना गुरुङ नै मुख्यमन्त्री हुने निश्चित भएको बताए । कोइरालाले नेपाल भने, ‘जनमोर्चाका कृष्ण थापाले हामीलाई समर्थन गर्न मान्नु भएन । उहाँले नमान्ने बित्तिकै बहुमत नपुग्ने भयो । अब २९ दिनका लागि उहाँ नै मुख्यमन्त्री हुनुभयो ।’

गण्डकीमा राजमोका ३ जना सांसद छन् । अघिल्लो पटक बिरामी परेर अनुपस्थित भएका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भए पनि दलका नेता थापाले नमानेका कारण कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएको हो । राजमोकी सचेतक पियारी थापाले सोमवार ह्वीप जारी गरे पनि दलका नेता थापाले ह्वीपको अर्थ नभएको बताएका छन् । उनले बागलुङको राजनीति फरक रहेको र कांग्रेसलाई साथ दिन नसकिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७