सलाम अन्तिम सलामकर्ता


२९ बैशाख २०७८, बुधबार
korona death pokhara 1 scaled

काठमाडौं, २९ बैसाख । कोरोना भाइरस संक्रमणबाट हुने मृत्युदर अत्यधिक बढेको छ । पछिल्लो २४ घण्टामा मंगलबार २ सय २५ जनाले ज्यान गुमाएका छन् । सोमबार यो संख्या १ सय ३९ थियो । संक्रमितको शव व्यवस्थापनमा नेपाली सैनिकहरू खटिएका छन् । जसले शवको व्यवस्थापन मात्रै होइन, अन्तिम सलामीसमेत अर्पण गर्छन् ।

पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा आइपुग्ने आफन्तले अन्तिम अवस्थामा पनि सोध्छन्– ‘एकपटक मृतकको अनुहार हेर्न मिल्दैन ?’ त्यस बेला शव व्यवस्थापनमा खटिएका सैनिक भावविह्वल हुन्छन् । मन भक्कानिन्छ तर सहनै पर्छ । रोगै यस्तो ! सुरक्षित रूपमा पोको पारिएको शव खोल्न मिल्दैन ।

सानोतिनो गल्ती र असावधानीले पनि आफैं संक्रमित हुने जोखिम रहन्छ । आफ्नै ज्यान जोखिममा राखेर ज्यादै चुनौतीपूर्ण काम गर्दै आएका छन्, नेपाली सैनिकले । नेपाली सेनाले सबै निकायको सहयोग र सहकार्यमा कोभिड–१९ शव व्यवस्थापन कार्यविधिअनुसार काम गर्दै आएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।

‘नेपाल सरकारले सेनालाई दिएको एउटा महत्वपूर्ण जिम्मेवारी हो । यो जिम्मेवारीलाई सबै निकायको सहयोग र सहकार्यमा सेनाले पूर्णरूपमा पूरा गर्दै आएको छ’, सैनिक प्रवक्ता पौडेलले भने, ‘धार्मिक, सांस्कृतिक तथा परम्परागत मूल्य मान्यतालाई आदर र सम्मान गर्दै काम गरिरहेका छौं ।’

मोरङमा सीमित साधनस्रोतका कारण दिनभर पानीसमेत नपिई सैनिक जवान यो काममा खटिएका छन् । तर, कपितय शव घाट पुर्‍याइसक्दा कुनै बेला चिता समेत तयार हुँदैन । मृतकबाट संक्रमण फैलन नदिन जतिसक्दो चाँडो शव व्यवस्थापन गर्नुपर्ने हुन्छ । पर्सामा पनि पीपीई सेट र शव पोको पार्ने झोलाको अभाव हुन थालेको छ । यद्यपि, पूर्ण सावधानीका कारण कोही जनशक्ति संक्रमणमा परेका छैनन् ।

चितवनमा खटिएका सैन्य अधिकारी भन्छन्– ‘हामी देशको खम्बा भएर बसेका छौं । खम्बा नै पछि हट्यो भने के काम लाग्यो र ? सेवा गर्न पाउनु संस्था र व्यक्तिका लागि गर्वको कुरा हो ।’ कोरोनाको डरभन्दा पनि राज्यले दिएको जिम्मेवारीलाई ठूलो मानेको बाँकेमा खटिएका सैनिकको भनाइ छ । ‘हामीले गर्नै पर्छ । सेनाले नगरे कसले गर्छ ? हामी बाहेक अरू कोही पनि छैन भनेर दिएको काम स्वास्थ्य मापदण्ड पालना गर्दै पूरा गरेका हौं’, ती सैनिकले भने ।

काली दल एयरपोर्टका उपसेनानी उज्ज्वलवरसिंह थापा कोरोनाको पहिलो लहरमा कमान्डरका रूपमा शव व्यवस्थापनमा खटिएका थिए । थापा अहिले पनि त्यही भूमिका निर्वाह गरिरहेका छन् । उनी २०–२५ पटक यो काममा खटिएका छन् । पहिलो पटक शव व्यवस्थापनमा खटिँदा डर लागेको अनुभव थापाले सुनाए । ‘पहिलो पटक यो काममा खटिँदा मनमा डर थियो । आफू पनि संक्रमित हुने त होइन भन्ने द्विविधा पनि थियो’, उनले भने, ‘अझ आफन्तको शोक देख्न आफूलाई पनि नरमाइलो लाग्थ्यो। काम गर्दै जाँदा बानी पर्दै गयो । अहिले सामान्य लाग्छ ।’

शव व्यवस्थापनमा खटिँदै गर्दा आफंै संक्रमित हुन्छु कि भन्ने जुन डर उनमा थियो, त्यो वास्तविकतामा परिणत भयो । उनी ड्युटीकै क्रममा संक्रमित हुन पुगे । उनी शव व्यवस्थापनका साथै स्वास्थ्य सामग्री भण्डारण तथा वितरणमा खटिएका थिए । ड्युटी गर्दागर्दै उनलाई सास फेर्न गाह्रो भयो । हातखुट्टा लल्याकलुलुक भए । त्यसमाथि लगातार पखाला लागिरह्यो । स्वास्थ्य समस्या हुँदाहुँदै उनले केही दिन ड्युटी गरिरहे । तर, उनलाई रोगले झनझन च्याप्दै लग्यो । कोरोना संक्रमणको शंका लागेर उनले पीसीआर परीक्षण गराए । रिपोर्ट पोजिटिभ आयो ।

‘आफैं संक्रमित भएँ भनेर सुरुमा त विश्वास नै लागेन । रिपोर्ट आएपछि आइसोलेसनमा बसें । करिब दुई सातापछि कोरोनालाई जित्न सफल भएँ’, उनले भने । उनको अनुभवमा अस्पतालभन्दा होम आइसोलेसनमा मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न अप्ठयारो र चुनौतीपूर्ण छ । ‘अस्पतालमा शवलाई डाक्टरहरूले कोभिड ब्यागमा राखिदिनुभएको हुन्छ । तर, घरमा भने शव त्यत्तिकै हुन्छ । घरबाट शव लैजाँदा विशेष सावधानी अपनाउनुका साथै परिवार र आफन्तजनलाई पनि सान्त्वना दिनुपर्ने हुन्छ’, उनले भने ।
उनले शव व्यवस्थापनका क्रममा केही असहज परिस्थितिको पनि सामना गरेका छन् । शव व्यवस्थापन टोली नपुगिकन डाक्टरले मृत्यु प्रमाणपत्रमा सही नगरिदिने, शुल्क नतिरिकन अस्पतालले शव लैजान नदिने र पशुपति (आर्यघाट) मा आफन्त समयमा नआइदिने समस्या रहेको उनको भनाइ छ ।

काली दलकै हुद्दा नरेन्द्र तिवारी पनि अघिल्लो वर्षदेखि नै शव व्यवस्थापनमा खटिएका थिए । तिवारी तीन पटक यो काममा खटिए । तिवारीले यसलाई आफ्नो जिम्मेवारीसँगै धर्म पनि मानेका छन् । ‘यो काम पहिलो त आफ्नो जिम्मेवारी हो । त्यससँगै धर्म पनि हो’, उनले भने, ‘त्यही सम्झिएर अहिलेसम्म काम गर्दै आएको छु ।’

शव व्यवस्थापनका क्रममा निकै कष्ट सहनुपर्ने हुन्छ । पीपीईलगायत अन्य स्वास्थ्य सामग्री लगाएर काम गर्दा गाह्रो हुन्छ । अर्को कुरा घण्टौं पनि भोकभोकै काम गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा आफूले धैर्य राखेर काम गर्नुपर्ने हुद्दा तिवारीले बताए । ‘काममा खटिँदा न खाने टुंगो हुन्छ न त समयको नै’, उनी भन्छन्, ‘हामीले यस्तो बेलामा धैर्य राखेर नै काम गर्ने हो ।’

उपत्यका पृतनाद्वारा टोली निर्माण
संक्रमितको शव व्यवस्थापनका लागि नारायणहिटीस्थित उपत्यका पृतनाले टोली र तालिका बनाउने काम गर्छ । एउटा टोलीमा ६ जनाको टिम हुन्छ । पृतनाले एक साताका लागि टोली र तालिका बनाउँदै आएको छ । जुन टोलीको पालो आउँछ, त्यो टोली सबैभन्दा पहिले दुईवटा मोटरसाइकलमा कोरोनाले मृत्यु भएको अस्पतालमा पुग्ने गर्छन् ।

दुई मोटरसाइकलमध्ये एउटामा अक्सिजन हुन्छ भने अर्कोमा मेडिकल टिम । त्यो टोलीले अस्पताल पुगेर कागजी कामहरू गर्छ । मृत्यु प्रमाणपत्र, आफन्तको सहमति, वडाको सिफारिसलगायत कागजी प्रक्रिया पूरा गर्ने उपसेनानी थापाले बताए। त्यसपछि चण्डी दलमा रहेको शव व्यवस्थापनको गाडीमा अस्पताल एवं होम आइसोलेसनमा मृत्यु भएकाहरूको शव पशुपतिमा पु¥याउने काम गरिन्छ ।

दाहसंस्कार पशुपति विकास कोषबाट
शव बढी भई विद्युतीय शवदाह गृहमा मात्र जलाउन नसकिने भए बागमती नदी किनारमा चिता बनाउने, दागबत्ती दिने, दाहसंस्कार गर्ने काम पशुपति विकास कोषका कर्मचारीले गर्दै आएका छन् । ती शव जलाउन धेरै दाउरा चाहिए त्यसको व्यवस्थापनको काम भने नेपाली सेनाले गर्ने गरेको छ ।

‘एकै पटक धेरै शव भएमा त्यहाँ भएको दाउराले नपुग्ने हुन्छ’, विमानस्थलस्थित १४ बाहिनीका लेफ्टिनेन्ट कर्नेल दिनेश बानियाँले भने, ‘एउटा शव जलाउन २–३ सय किलो दाउरा आवश्यक पर्छ । यसका लागि थुप्रै दाउराको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

तालिम लिएकालाई मात्र जिम्मेवारी
कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनसम्बन्धी तालिम लिएका सैनिकलाई मात्र खटाउने गरिएको बाहिनीपति बानियाँले बताए । ‘हेडक्वार्टरबाटै तालिम दिएर मात्रै शव व्यवस्थापनमा खटाउन निर्देशन आएको छ’, लेफ्टिनेन्ट कर्नेल बानियाँले भने, ‘अनिवार्य रूपमा तालिम लिएकाहरूलाई मात्र काममा खटाउने गरेका छौं ।’ उनले तालिमसँगै कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएकाहरूलाई मात्र शव व्यवस्थापनमा खटाउने गरेको जनाकारी दिए ।

अनिवार्य क्वारेन्टाइन
शव व्यवस्थापनमा खटिएकाहरू अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ । यसैगरी उनीहरूले प्रयोग गरेका पीपीई, पञ्जा, मास्क, फेससिल्डलगायत सामग्री जलाउने वा खाल्डोमा पुर्ने गरिएको छ । बानियाँले एक पटक प्रयोग गरिएको सामग्री अर्को पटक प्रयोग नगरिने, त्यसलाई ‘डिस्पोज’ गरिने बताए ।

यसैगरी शव व्यवस्थापनमा खटिनेहरूको मनोबल बढाउन सरकारले भत्ताको व्यवस्था गरेको छ । यस्तै सेनाले प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेको छ भने विभिन्न युनिटले दैनिक खान्कीमा दोब्बर व्यवस्था गरेका छन् । ‘शव व्यवस्थापनमा खटिएकाहरूको हौसला र मनोबल बढाउन विभिन्न तालिम, परामर्शसँगै नेपाली सेनाले प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेको छ भने सरकारले पनि भत्ताको व्यवस्था गरेको छ,’ सैनिक प्रवक्ता पौडेलले भने । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७