पाँच दिनमा ९२ आरोही सगरमाथाको चुचुरोमा, कोरोना जोखिमबीच हिमाल आरोहण शुरु


२९ बैशाख २०७८, बुधबार
sagarmatha2020 12 10 07 31 44

काठमाडौं, २९ बैसाख । कोरोना महामारीको दोस्रो लहरको जोखिमबीच सगरमाथासहित विभिन्न हिमालको आरोहण खुला गरिएको छ । २४ वैशाखदेखि शुरु भएको सगरमाथा आरोहणमा मंगलबारसम्म ९२ आरोहीले चुचुरो चुमिसकेका छन् ।

पर्यटन विभागकी प्रवक्ता मीरा आचार्यका अनुसार २४ वैशाखमा १२ र मंगलबार बिहान ८० जनाले सगरमाथा आरोहण गरेका छन् । बिहीबार (२९ वैशाख) सम्मको मौसम आरोहणका लागि उपयुक्त मानिएको छ । त्यसपछि ४ देखि १० जेठ (१८ देखि २४ मे) सम्म आरोहणको मौसम रहेको आचार्यले बताइन् । उनी आफै पनि आधार शिविरमै छिन् ।

सगरमाथामा आरोहणका लागि अहिले करिब चार हजार आरोही आधार शिविरमा छन् । गत वर्ष कोरोना संक्रमण फैलिएको भन्दै सरकारले हिमाल आरोहणमा रोक लगाएको थियो । यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै ४३ समूहका चार सय सात आरोहीले अनुमति लिएका छन् ।

चालू सिजनमा १६ हिमाल आरोहणका लागि ८५ आरोहण दलका सात सय ४२ आरोहीले विभागबाट अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ४३ समूहका तीन सय १५ पुरुष र ९२ जना महिला आरोहीले अनुमति लिएका थिए । सरकारले उनीहरूबाट रोयल्टीबापत मात्रै ६६ करोडभन्दा बढी संकलन गरेको छ । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

बहराइनका राजकुमारले चढे सगरमाथा
बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । राजपरिवारका सदस्यसहितको १६ सदस्यीय टोली मंगलबार बिहान ६ः४० बजे चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । यो टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् ।

कामिरिताको नयाँ कीर्तिमान
१३ मे १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरो चुमेका कामिरिता शेर्पाले २५औं पटक सगरमाथा आरोहण गरेर नयाँ रेकर्ड कायम गरेका छन् । गत ७ मेमा १२ जनाको आइसफल डाक्टरसहितको टोलीले सगरमाथा आरोहण गरेको हो । कामिरिता नेतृत्वको टोलीले आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरोमा पुगेर ‘रोप फिक्सिङ’ गरेपछि व्यावसायिक आरोहण शुरु भएको थियो ।

आरोहीले प्रयोग गरेका तीन हजार अक्सिजन सिलिन्डर सरकारलाई दिइने
नेपाल पर्वतारोहण संघको अगुवाइमा हिमाल आरोहणमा प्रयोग भएका तीन हजारभन्दा बढी अक्सिजन सिलिन्डर सरकारलाई दिइने भएको छ । हाल सगरमाथा क्षेत्रमा एक हजार ६ सयभन्दा बढी तथा अन्य हिमाल आरोहणमा थप एक हजार पाँच सयभन्दा बढी सिलिन्डर प्रयोगमा छन् ।

‘हामीले भएका सबै सिलिन्डर दिनका लागि सबै कम्पनीलाई आग्रह गरेका छौँ,’ संघका महासचिव कुलबहादुर गुरुङले भने । सकभर १५ जेठलगत्तै सिलिन्डर हस्तान्तरण सुरु गरिने उनले बताए । संघले आफूसँग भएका ६० सिलिन्डर राष्ट्रिय आविष्कार केन्द्रलाई दिइसकेको छ ।

आरोहणका क्रममा एकजना आरोहीले चारवटासम्म सिलिन्डरको प्रयोग गर्ने गरेका छन् । खासगरी सात हजार पाँच सय मिटरभन्दा माथि आरोहीले चार लिटरको अक्सिजन सिलिन्डर प्रयोग गर्ने गरेका छन् । ‘सबैले प्रयोग नगरे पनि लैजाने गर्छन्, आरोहण सकिएपछि सरकारलाई सहयोग गर्ने तयारीमा छौँ,’ महासचिव गुरुङले भने ।

पर्यटन विभाग भन्छ– हल्ला भए जस्तो समस्या छैन
सगरमाथा आरोहणमा गएका थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि एक शेर्पा गाइडसहित चार आरोहीमा संक्रमण देखिएको थियो । उनीहरूमध्ये तीन जना निको भएर पुनः आधार शिविरतर्फ गइसकेको पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले बताए । विदेशी सञ्चारमाध्यमले चलाएको हल्ला जस्तो संक्रमण नफैलिएको दाबी उनले गरे ।

‘शंका लागेकाहरू कति आधार शिविरमै आइसोलेसनमा बसेका र निको नभएकालाई काठमाडौंै ल्याइएकाले सुरक्षित ढंगले आरोहण भइरहेको छ,’ गुरुङले भने । यता, पर्यटन विभागकी प्रवक्ता मीरा आचार्यले पनि सगरमाथा आधार शिविरमा बाहिर हल्ला चले जस्तो संक्रमणको कुनै समस्या नरहेको बताइन् । सुरक्षित ढंगले आरोहण भइरहेको उनको भनाइ छ । लियाजन अफिसरका रूपमा आचार्य आधार शिविरमै छिन् । उता, धौलागिरि आधार शिविरमा रहेका स्वास्थ्य समस्या देखिएका १९ जनामध्ये पिसिआर परीक्षणमा पाँच जनामा मात्रै पोजिटिभ देखिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७