गण्डकीमा आज मुख्यमन्त्रीको ‘छिनोफानो’


२९ बैशाख २०७८, बुधबार
gandaki sarkar 1536x804 1

काठमाडौं, २९ बैसाख । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनलाई आज (बुधबार) अन्तिम मौका रहेको छ । आज गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो हुँदैछ । यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको ३ दिनको समय सीमा आज सकिंदैछ ।

गुरुङले गत आइतबार राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दलहरूलाई नयाँ सरकार गठनको दाबी पेस गर्न आज दिउँसो ४ बजेसम्मको समय दिएकी हुन् ।

यस समयभित्र विपक्षी दलहरूले बहुमत पुर्‍याई नयाँ मुख्यमन्त्रीको नाम पेस गर्न सक्नुपर्छ । अन्यथा प्रदेश सभामा सबैभन्दा धेरै सदस्य भएको दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति दिनुपर्ने हुन्छ । त्यहाँ सबैभन्दा ठूलो दल एमाले हो भने त्यसका संसदीय दलका नेता यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुन् ।

विपक्षी दलले मंगलबार साँझसम्म पनि बहुमत पुर्‍याउन सकेका छैनन् । आज दिनभरमा कुनै चमत्कार भएन भने पुनः गुरुङ नै मुख्यमन्त्री हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकारको बनाउने प्रयास गरिरहेका भए पनि निर्णायक रहेको राष्ट्रिय जनमोर्चाका दुई संसदले साथ छाडेपछि हलो अड्किएको छ । कांग्रेसबाट त्यहाँ कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने तयारी छ ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले कांग्रेसलाई साथ दिन नसकिने बताएका छन् । उनी पार्टीको निर्णय विपरीत उभिएका हुन् । ६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् । नयाँ सरकार गठन गर्न ३१ सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७