देउवालाई प्रधानमन्त्री बनाउन नसकिने डा. बाबुराम भट्टराईको संकेत, अघि सारे चार प्रस्ताव


२९ बैशाख २०७८, बुधबार
sher bdr baburam

काठमाडौं, २९ बैसाख । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिक संकट निवारणका लागि सर्वदलीय सरकार गठनको अवधारणासहितका चार प्रस्ताव अघि सारेका छन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमा उनले चार वटा प्रस्ताव अघि सारेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार सबै दलको सहभागिता र वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आग्रह गरेका छन् ।

उनले पूर्व प्रधानमन्त्रीहरू निर्देशक रहेको एउटा समिति बनाउन सकिने विचार प्रस्तुत गरेका छन् । र, एक वर्षभित्रै ‘अर्ली इलेक्सन’ मा जान सकिने पनि बताएका छन् । ‘देशको संकट हल गर्न यसो गरौं : १) धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान, पूर्व प्रम बाहेककको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं, २) दलका प्रमुख, पूर्वप्रम रहेको निर्देशक समिति, ३) साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, टीआरसी मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ.) लागु ४) एक वर्षभित्र चुनाव’, ट्वीटमार्फत् उनको प्रस्ताव छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार गठनको दाबी गर्ने दाबी गरिरहेको समयमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

वैकल्पिक सरकार गठनको तयारीसँगै संसद्को निर्णायक खेलाडी जसपामा दुई धार देखिएको छ । उपेन्द्र यादव विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने अभियानमा लागेका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो यसमा सहमत छैनन् । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नपाएपछि वैकल्पिक सरकार बनाउने योजनामा उपेन्द्रको सक्रियता पार्टी निर्णय र लाइन विपरीत भन्दै महन्थले अलग्गै विज्ञप्ति निकालेका थिए ।

सोमबार संसदमा प्रधानमन्त्रीले विश्वासको मत दिने क्रममा जसपा विभाजित भएको थियो । उपेन्द्र पक्षका १५ जनाले विपक्षमा मत हाले भने ठाकुर पक्षका १५ जना तटस्थ बसे र दुई जना अनुपस्थित रहेका छन् । त्रिशंकु संसद्को अंक गणितमा ३४ सिट भएको जसपा निर्णायक खेलाडीको भूमिकामा छ । उसले जसलाई समर्थन ग¥यो उसकै सरकार बन्ने अवस्था छ ।

अब के गर्ने भन्नेमा ठाकुर पक्ष प्रथम अध्यक्ष ठाकुर नै भएकाले उनको हस्ताक्षर आधिकारिक हुने बताउँदै आएको छ । यादव पक्ष केन्द्रीय कार्यकारिणी समितिको निर्णय सबैले मान्नु पर्ने अडान राख्दै आएको छ । सोमबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबारका दिन साँझ ९ः०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा आफ्नो दावी पेश गर्न आह्वान गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७