हामी एकताको पक्षमा छौं, राजीनामा अन्तिम विकल्प हो : झपट रावल


२९ बैशाख २०७८, बुधबार
Jhapat rawal

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले)का नेता तथा संघीय सांसद झपट रावलले आफूहरु पार्टी एकताको पक्षमा रहेको बताएका छन् । आफूहरु अन्तिम अवस्थासम्म एमालेलाई एकताबद्ध बनाउन प्रयत्नशील रहने उनको भनाई छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसद रावलले बुधबार साँझ नयाँ पेजसँग भने, ‘सामूहिक राजीनामा हाम्रो अन्तिम विकल्प मात्रै हो । अहिले हाम्रो प्रयास र सक्रियता एकताबद्ध एमालेको लागि नै हो ।’ तर पार्टीको विधानविपरीत २०७७ साल फागनु २८ गतेको निर्णय र त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज नगरिए विद्रोह बाहेक अर्को बाटो नभएको उनको भनाई छ । उनले भने, ‘एमाले मात्रै होइन कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन पनि एकता जरुरी छ । तर पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्न सबै तयार हुनुपर्छ ।’

एमालेलाई एकताबद्ध बनाउने या विभाजन गर्ने ? यसको सम्पूर्ण हात अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा रहेको उनको भनाई छ । उनले भने, ‘पार्टी एकताको लागि कुनै अप्ठ्यारो छैन । २०७५ साल जेठ ३ गते पार्टी एकीकरण पूर्व अर्थात् जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाउने साथ एमाले एकताबद्ध हुन्छ ।’

प्रतिनिधिसभाबाट प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई ३ दिनको समय दिएकी छिन् । सो समय बिहीबार राति ९ बजे सकिन लागेको छ । यो समय सिमा अगावै एमालेका वरिष्ठ नेता नेपाल समूहका सांसदहरुले राजीनामा दिने चर्चा चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७