चिकित्सा शिक्षाका सबै विषयमा पहिलो पटक समान शुल्क


३० बैशाख २०७८, बिहीबार
nurse

काठमाडौं, ३० बैसाख । चिकित्सा शिक्षाका सम्पूर्ण विषयमा सबै शैक्षिक संस्थामा पहिलो पटक समान शुल्क निर्धारण भएको छ । यसअघि एमबिबिएस र बिडिएसमा मात्र शुल्क निर्धारण हुने गरेकोमा शैक्षिक सत्र ०७७–०७८ का लागि स्नातक तहका सबै विषयमा चिकित्सा शिक्षा आयोगले शुल्क निर्धारण गरेको हो ।

विगतमा एमबिबिएस र बिडिएसबाहेकका विषयमा विश्वविद्यालय तथा प्रतिष्ठानलाई शुल्क निर्धारण गर्न जिम्मा दिँदा शुल्कमा धेरै अन्तर भएपछि यो शैक्षिक सत्रका लागि सबैलाई समान हुने गरी आयोगले शुल्क निर्धारण गरेको हो ।

एमबिबिएस र बिडिएसबाहेकका विषयमा सम्बन्धित विश्वविद्यालयले शुल्क निर्धारण गरी चिकित्सा शिक्षा आयोगलाई जानकारी गराउँदै आएका थिए । विश्वविद्यालय र शैक्षिक कार्यक्रमअनुसार शुल्कमा निकै असमान हुँदा विद्यार्थीले समस्या भोगेका थिए । आयोगका प्रवक्ता तथा सदस्य–सचिव डिल्लीराम लुइँटेलका अनुसार यसअघि बिएस्सी नर्सिङ र बिएनमा कुनै शैक्षिक संस्थाले पाँच लाख २५ हजारदेखि कुनैले सोही कार्यक्रमको ११ लाखसम्म शुल्क निर्धारण गरेका थिए ।

‘विगतमा एमबिबिएस र बिडिएसबाहेकका विषयमा विश्वविद्यालय तथा प्रतिष्ठानलाई शुल्क निर्धारण गर्न जिम्मा दिँदा शुल्कमा धेरै अन्तर भएपछि यो शैक्षिक सत्रका लागि सबैलाई समान हुने गरी आयोगले शुल्क निर्धारण गरेको हो,’ उनले भने । यो शैक्षिक सत्रका लागि बिएसी नर्सिङ र बिएनमा सात लाख ५० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

यस्तो छ आयोगले तोकेको शुल्क
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७७–०७८ का लागि एमबिबिएसमा उपत्यकाभित्र ४० लाख २३ हजार दुई सय २५ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ । बिडिएसमा २० लाख १९ हजार पाँच सय ८० रुपैयाँ निर्धारण गरेको छ ।
एमबिबिएस र बिडिएमा अघिल्लो शैक्षिक सत्रको शुल्कलाई यथावत गरेको प्रवक्ता डिल्लीराम लुइँटेलले बताए । नर्सिङतर्फ साढे सात लाख रुपैयाँ निर्धारण गरेको छ । आयोगले गत माघमा भएको निर्णयअनुसार बुधबार विभिन्न विषयका १७ थरी शुल्क निर्धारण गरेको हो ।

बिएससी नर्सिङ, बिपिटी, बिएसी एमएलटी, बी मेडिकल माइक्रोबायोलोजी, बायोकेमिस्ट्रीमा सात लाख ५० हजार शुल्क तोकेको छ । बाम्समा १० लाख ९२ हजार ६ सय, बिएनएस–पिबिएनमा पाँच लाख शुल्क निर्धारण भएको छ । बी फार्म, बिपिएच, बि अप्ट्म, बी पर टेक, बिएएसएलपीमा सात लाख ५० हजार शुल्क तोकेको छ । एमडि–एमएस क्लिनिकलमा २२ लाख ९९ हजार, एमडि–एमएस बेसिक सान्समा १० लाख ४८ हजार एक सय ३५, एमडी आयुर्वेदमा नौ लाख २४ हजार तीन सय ६५ तोकेको छ ।

एमएन, एमएससी नर्सिङ र एमपिएचमा आठ लाख ८८ हजार दुई सय ५० शुल्क निर्धारण भएको छ । एमफार्ममा पाँच लाख एक हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी एमएससी मेडिकल माइक्रोबायोलोजी, बायोकेमेस्ट्री र एमएसी एमआइटी, एमएलटीमा सात लाख ३१ हजार पाँच सय तोकिएको छ । एमएससी बेसिक साइन्समा सात लाख ३१ हजार पाँच सय तोकिएको छ । एमफिल क्लिनिकल साइकोलोजीमा दुई लाख ९३ हजार ६ सय ४५ र डिएम–एमसिएचमा २५ लाख शुल्क निर्धारण गरेको छ ।

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ । आगामी जेठ दोस्रो सातादेखि एकीकृत प्रवेश परीक्षा लिने तयारी गरे पनि कोभिड–१९को संक्रमण उच्च दरले फैलिएकाले अनिश्चितकालका लागि स्थगित गरेको हो ।

पहिलो पटक हुन लागेको स्नातक तहको एकीकृत परीक्षामा अनलाइनमार्फत ३२ हजार दुई सय ८५ विद्यार्थीले फरम भरेका छन् । सबैभन्दा बढी एमबिबिएसका लागि १० हजार सात सय ३४ विद्यार्थीले फारम भरेका छन् । त्यसैगरी बिडिएसका लागि चार हजार पाँच सय २४, बिएससी नर्सिङमा चार हजार पाँच, बिएनमा तीन हजार चार सय ८०, बिफाममा तीन हजार एक सय ९०ले फारम भरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७