गठबन्धन सरकार अझै अनिश्चित : देउवा आउने र ओली दोहोरिने कति सम्भावना ?


३० बैशाख २०७८, बिहीबार
kp oli deuwa

काठमाडौं, ३० बैसाख । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा आज (बिहीबार) सकिँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राति ९ बजेसम्म राष्ट्रपति भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएकी हुन् ।

जुन आज राति ९ बजेसम्मको समय दिएकी थिइन् । तर सरकार गठनको नेतृत्व गर्न तम्सिएको नेपाली कांग्रेसलाई बहुमत जुटाउन सकस परिरहेको छ । तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु बहुमत जुटाउन प्रयासरत छन् ।

३२ जना सांसद रहेको जनता समाजवादी पार्टी दुई खेमामा विभाजित हुँदा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना कम हुँदै गएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफूहरु नयाँ सरकारमा नजाने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत पत्र लेखिसकेका छन् । तर अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भने जसरी पनि केपी शर्मा ओलीलाई हटाउनु पर्ने भन्दै कांग्रेसलाई साथ दिने निर्णय गरिसकेका छन् ।

जसपाले साथ नदिएपछि कांग्रेस सभापति देउवाले नेकपा एमालेको माधव नेपाल पक्षको साथ खोजेका छन् । उनले नेपाल समूहका सांसदले राजीनामा दिएमा जसपाको महन्थ ठाकुर पक्षले साथ नदिए पनि नयाँ सरकार बन्ने बताएका छन् । राजीनामा दिएर नयाँ सरकार गठनमा देउवालाई सघाउने बताए पनि माधव नेपाल समूहका सांसदले अहिलेसम्म राजीनामा दिएका छैनन् ।

नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएकाले राजीनामा दिएर नयाँ सरकार गठनमा कांग्रेस र माओवादीलाई सहयोग गर्ने आँकलन गरिएको छ । अहिले संसदमा २७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि १३६ मत आवश्यक पर्छ । तर नेपाल पक्षका सांसदले राजीनामा दिएमा बहुमत पुर्‍याउन कांग्रेस र माओवादीलाई सहज हुन्छ ।

जनता समाजवादी पार्टी (जसपा) को पूर्ण समर्थन नहुने निश्चित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको भर परेका छन् । खनाल–नेपाल पक्षका कम्तीमा २० सांसदले राजीनामा दिए मात्र देउवाको नेतृत्वमा नयाँ गठबन्धन सरकार बन्ने ढोका खुल्छ ।

सरकार गठनका विषयमा कांग्रेस सभापति देउवासँग छलफल गर्न नेता नेपाल भीम रावलका साथ मंगलबार राति बूढानीलकण्ठ पुगेका थिए । स्रोतका अनुसार नेपालले बिहीबारसम्म सामूहिक राजीनामा आउने भन्दै आश्वस्त बनाएका थिए । ‘जसपाका अध्यक्ष महन्थ ठाकुरजीलाई मनाउन सकिन्छ कि भनेर लागेका थियौं, उहाँहरू नआउने करिब निश्चित भएपछि माधवजीहरूले राजीनामा दिन्छौं भन्नु भएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘उहाँहरूको राजीनामा आयो भने गठबन्धनको सरकार बन्छ ।’ नेपाल समूहका सांसदहरुले राजीनामा दिन सक्ने चर्चा छ । धारा ७६ (२) अनुसार सरकार गठन नभएमा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री नियुक्त हुने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७