बालुवाटारमा एमाले स्थायी कमिटी बैठक, नेपाल–खनाल पक्षलाई फकाउने प्रयासमा ओली


३० बैशाख २०७८, बिहीबार
oli samuha

काठमाडौं, ३० बैसाख । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । समसामयिक परिस्थितिबारे छलफल गर्न अहिले बिहान ९ बजे स्थायी कमिटी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् । ‘स्थायी कमिटीको बैठक ९ बजेबाट शुरु भएको छ’, उनले भने ।

संसदमा विश्वासको मत गुमाएपछि आह्वान भएको गठबन्धन सरकार निर्माणको समय सीमा आज सकिँदैछ । उता एमालेमा असन्तुष्ट खनाल–नेपाल पक्षले आजै राजीनामा बुझाउने तयारी पनि गरेको छ । यद्यपि, राजीनामा दिने कि नदिने भन्नेबारे उनीहरु अन्तिम निर्णयमा पुगिसकेका छैनन् ।

बहुमत जुटाई नयाँ सरकार गठन गर्ने समय सीमाको अन्तिम दिन आज एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठकपछि ओलीले नेपाल पक्षसँग वार्ता गर्ने सम्भावना रहेको स्रोतले दाबी गरेको छ ।
एमाले अध्यक्ष ओलीले संसदमा विश्वासको मत (बहुमत) प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत जुटाई नयाँ सरकार गठन गर्न विपक्षी दललाई दिएको समयसीमा आजै राति ९ बजे सकिँदैछ ।

नेपाल पक्षका सांसदले राजीनामा दिँदा नयाँ प्रधानमन्त्री बन्न कस्सिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत पुग्ने हुँदा त्यसलाई रोक्न ओली सक्रिय भएका हुन् । नेपाल पक्षका कम्तीमा १६ सांसदले राजीनामा दिँदा संसदको कूल सदस्य संख्या घट्ने र जसपाको महन्थ ठाकुर पक्षले साथ नदिए पनि विपक्षी गठबन्धनलाई बहुमत पुग्ने आंकलन भइरहेको छ ।

त्यसका लागि देउवाले नेपाल पक्षका सांसदलाई मनाउने प्रयास गरिरहेका छन् भने आफ्नै अध्यक्ष भए पनि ओली प्रतिगमनकारी भएको र लोकतन्त्र ध्वस्त बनाउन उद्दत भएको आरोप लगाउँदै नेपाल पक्षका सांसदले पनि बरु आफूहरूले राजीनामा दिएर भए पनि उनलाई सत्ताबाट हटाउनै पर्नेमा जोड दिइरहेको खबर आइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७