धनुषामा निषेधाज्ञा जेठ १० सम्म लम्ब्याइयो


३० बैशाख २०७८, बिहीबार
janakpur

धनुषा, ३० बैसाख । कोरोना महामारी तीब्र बनेपछि धनुषामा जेठ १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख १९ गतेदेखि जारी निषेधाज्ञाको समयावधि सम्पन्न हुन अगावै पुनः थप गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोरोना संक्रमण दर कम गर्न तथा यसको चेनलाई ब्रेक गर्न निषेधाज्ञा लगाइए पनि संक्रमण तथा मृत्यु दरमा सुधार नआएकोले जेठ १० गतेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको जनाए ।

जिल्ला संकट व्यवस्थापन समिति धनुषाको बैठकले अस्पतालहरुमा अक्सिजनको माग अत्यधिक बढे पनि सीमित सिलिन्डर रहेकाले १२५ थान अक्सिजन सिलिन्डर उपलब्ध गराउनलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीसँग अनुरोध गर्ने निर्णय भएको प्रजिअ बास्तोलाले बताए ।
बैठकबाट निषेधाज्ञा कार्यान्वयनका लागि खटाइएको सुरक्षाकर्मीहरुको इन्धन तथा सुरक्षा उपकरण बापत ७ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

त्यस्तै जिल्लामा एम्बुलेन्स पर्याप्त भए पनि बिरामीले समयमा एम्बुलेन्स नपाएको, कोरोना बिरामीलाई नलगेको भन्ने जनगुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले एम्बुलेन्स सञ्चालकहरुलाई कडाई गर्ने निर्णय भएको जानकारी दिए ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ को तथ्याङ्क अनुसार मंगलबारसम्म धनुषामा कोरोनाका सक्रिय संक्रमित संख्या १ हजार ६८९ जना रहे पनि ७० जना मात्र अस्पतालमा छन् । अस्पतालमा शैंया र उपचार सामग्री अभावमा धनुषामा हालसम्म २५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७