बागलुङमा एक घण्टामा कोरोनाबाट माओवादी नेतासहित तीन जनाको मृत्यु


३० बैशाख २०७८, बिहीबार
Serman Gharti baglung

बागलुङ, ३० बैसाख । कोभिड–१९ को संक्रमणबाट बागलुङमा एक घण्टाको अवधिमा तीन जनाको ज्यान गएको छ । धौलागिरी अस्पतालमा उपचाररत एक माओवादी केन्द्रका नेतासहित तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बागलुङमा कोभिडबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

कोभिड भएर वैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत ढोरपाटन नगरपालिका–९ का ५७ वर्षीय शेरमान घर्तीको उपचारकै क्रममा मृत्यु भएको हो । उनी नेकपा माओवादी केन्द्रका नेता हुन् ।

ढोरपाटन नगरपालिकाको मेयरमा पराजित भएका घर्तीले गत वर्ष भएको बागलुङ क्षेत्र नम्बर २ ख को उपनिर्वाचनमा पनि गण्डकी प्रदेश सदस्यमा उम्मेदवारी दिएका थिए । तर, अन्तिम समयमा अहिले गण्डकी प्रदेश सभा सदस्य रहेर चर्चामा रहेका राष्ट्रियका खिमविक्रम शाहीलाई समर्थन जनाएर उम्मेदवारी फिर्ता लिएका थिए ।

अस्पतालमै उपचाररत गलकोट नगरपालिका–२ का ५२ वर्षीय पुरुष र बागलुङ नगरपालिका–४ का ७७ वर्षीया वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । गल्कोटका ५२ वर्षीय पुरुष वैशाख २२ गते अस्पताल आएका थिए भने ७७ वर्षीय वृद्ध मंगलबार मात्रै अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७