अमेरिकाद्वारा उत्तर कोरियामाथि अहिलेसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा


१३ फाल्गुन २०७४, आईतवार
USA VS North Korea

एजेन्सी न्युयोर्क : अमेरिकाले उत्तर कोरियामाथि अहिलेसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सो घोषणा गरेका हुन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध सुधार भइरहेका वेला ट्रम्पले सो घोषणा गरेका हुन् । अमेरिकी घोषणाको उत्तर कोरियाले विरोध गरेको छ । प्योङयाङले अहिले पनि आफ्नो आणविक कार्यक्रमलाई जारी राखेकाले ताजा नाकाबन्दी लगाउनुपरेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।USA VS North Korea

५० पानीजहाज कम्पनीविरुद्ध लक्षित
सो नाकाबन्दी उत्तर कोरियाका ५० भन्दा बढी पानीजहाज कम्पनीहरूविरुद्ध लक्षित हुने अमेरिकाले जनाएको छ । उत्तर कोरियासँगै अमेरिकाले चीन र ताइवानका पानीजहाज कम्पनीविरुद्ध पनि नाकाबन्दी लगाएको छ । अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प दक्षिण कोरिया पुगेको केही घन्टाभित्रै उत्तरमाथि नयाँ नाकाबन्दीको घोषणा गरिएको हो । दक्षिण कोरियाको राजधानी सिउल पुगेको केही घन्टापछि इभान्काले उत्तरविरुद्ध कडा दबाब दिन आह्वान गरेकी थिइन् । दक्षिण कोरियामा जारी हिउँदे ओलम्पिक समापन समारोहमा भाग लिन इभान्का शनिबार सिउल पुगेकी थिइन् । सो ओलिम्पिकको उद्घाटन समारोहमा अमेरिकी उपराष्ट्र«पति माइक पेन्स सहभागी भएका थिए ।

उत्तरमाथि थप दबाब
उत्तर कोरियाको आणविक कार्यक्रमको विरोधमा अमेरिका र अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध लगाउँदै आएका छन् । संयुक्त राष्ट्रसंघको चेतावनीका बाबजुद पनि उसले आणविक परीक्षणलाई निरन्तरता दिएको छ । केही महिनाअघि मात्र उसले शक्तिशाली आणविक परीक्षण र अमेरिकासम्म पुग्ने ब्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियामाथि थप दबाब दिन, राजस्वका स्रोत कटौती गर्न र उसका आणविक कार्यक्रमका लागि इन्धन कटौती गर्न नाकाबन्दी लगाइएको अमेरिकाले जनाएको छ । नाकाबन्दीले उत्तर कोरियाको आणविक कार्यक्रमलाई अप्रत्यक्ष रूपमा प्रभाव पारे पनि उत्तरले आणविक गतिविधिलाई झन् तीव्र पार्न सक्ने विज्ञहरूले बताएका छन् ।

उत्तर कोरियामाथि थप दबाब दिन, राजस्वका स्रोत कटौती गर्न र उसका आणविक कार्यक्रममा उपयोग हुने इन्धन अभाव गर्न नाकाबन्दी लगाइएको अमेरिकी भनाइ

१६ कम्पनीविरुद्ध नाकाबन्दी
अमेरिकाले नाकाबन्दी लगाएका ५० कम्पनीमध्ये १६ कम्पनी उत्तर कोरियाली हुन् । अन्य कम्पनीमा पाँचवटा कम्पनी हङकङमा दर्ता भएका हुन् भने दुईवटा चीनको मूल भूमिमा, एउटा पानामामा र एउटा सिंगापुरमा दर्ता भएका हुन् । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले पछिल्लो चरणको प्रतिबन्धले राम्रो परिणाम नल्याए गम्भीर परिणाम सामना गर्नुपर्ने चेतावनी दिए । ‘प्रतिबन्धले काम नगरे हामी दोस्रो चरणमा कारबाही गर्नेछौँ, जुन विश्वका लागि दुर्भाग्यपूर्ण हुनेछ,’ उनले भने । उत्तर कोरिया धूर्त राष्ट्र« भएको ट्रम्पले बताए । ‘उत्तर कोरिया आफैँमा धूर्त राष्ट्र हो । उत्तरसँग सम्झौता भए राम्रो विषय हो, तर सम्झौता नभए अप्रिय घटना हुनेछ,’ उनले भने ।

८ वर्षदेखि नाकाबन्दी
अमेरिकाले सन् २००८ देखि उत्तरविरुद्ध नाकाबन्दी लगाउँदै आएको छ । पछिल्लो प्रतिबन्धलाई अमेरिकाले गत नोभेम्बरमा घोषणा गरेको प्रतिबन्धका सूचीमध्ये सबैभन्दा माथि राखेको थियो । डिसेम्बरमा संयुक्त राष्ट्रसंघले अमेरिकी अनुरोधमा प्रतिबन्ध लगाएको थियो । उत्तर कोरियामाथिको प्रतिबन्धलाई सुरक्षा परिषद्का सम्पूर्ण १५ सदस्यले समर्थन गरेका थिए । प्रतिबन्धपछि उत्तर कोरियाको पेट्रोल निर्यातमा ९० प्रतिशतले कटौती आएको थियो । अमेरिकाले उत्तर कोरियाली नागरिकमाथि पनि प्रतिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले उत्तर कोरियाले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । प्रतिबन्धले उत्तर कोरियालाई बर्सेनि अर्बौं डलर घाटा लाग्ने अमेरिकाको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७