आफू पक्षका सांसदहरुसँग महन्थ–राजेन्द्रको भक्तपुर रिसोर्टमा छुट्टै छलफल


३० बैशाख २०७८, बिहीबार
mahantha rajendra

काठमाडौं, ३० बैसाख । गठबन्धन सरकारका लागि प्रधानमन्त्रीको उम्मेदवारको दाबी पेस गर्ने आज अन्तिम दिन राजनीतिक जोड–घाउ तीब्र बनिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महताले आफू पक्षका सांसदहरुसँग छुट्टै छलफल गरिरहेका छन् ।
उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे जसपाका आफू पक्षीय सांसदसँग छलफल गरिरहेको सांसद शरतसिंह भण्डारीले जानकारी दिए । ‘अहिले महन्थजीले बोलाएको बैठकमा म जाँदैछु,’ सिंहले भने ।

अर्का एक सांसदका अनुसार भक्तपुरको एक रिसोर्टमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मात्र सांसदहरुको छलफल भएको हो । ‘उपेन्द्र–बाबुराम पक्षको सांसदलाई बोलाएको जानकारी छैन, हामीलाई मात्रै बोलाइएको हो,’ ती सांसदले भने, ‘अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गर्नका लागि होला ।’

उनले कति सांसद छन् भन्ने खुलाउन चाहेनन् । तर, त्यहाँ पुगेका धेरै सांसदको भने मोबाइल अफ गरिएको छ । महन्थ–राजेन्द्र पक्षका १५ सांसदहरुले प्रधाममन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई तटस्थ बसेका थिए । प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदमा भएको मतदानमा विश्वासको मत नपाएपछि पदमुक्त भएका छन् । नयाँ प्रधानमन्त्रीको चयन प्रक्रिया सोही दिनदेखि शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज बेलुका ९ बजे सकिँदैछ ।

नेपाली कांग्रेसले बहुमत सरकारको दाबी गर्ने तयारी गरिरहेका बेला निर्णायक शक्ति रहेको जसपाभित्र दुई धार देखिँदा कुनै निर्णय हुन सकेको छैन । यसैबीच सांसद शरतसिंह भण्डारीले जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन दाबी गर्ने प्रस्तावको विषयमा छलफल गर्न लागिएको बताए । ‘हामी बहुमतको सरकार बनाउनका लागि दाबी गर्नसक्छौं,’ भण्डारीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७