ओली र नेपाल सहमति नजिक : पार्टी कमिटी २०७५ जेठ २ को स्थितिबाट क्रियाशील बनाउन ओली तयार


३० बैशाख २०७८, बिहीबार
kp oli madhav

काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट बरिष्ठ नेता माधव नेपाल सहमति नजिक पुगेका छन् । अध्यक्ष ओली सर्वोच्च अदालतको फैसला अनुरुप पार्टी कमिटी २०७५ जेठ २ को स्थितिबाट क्रियाशील बनाउन सहमत भएपछि अवस्था सकरात्मक बनेको हो ।

ओली र नेपालबीच बिहीबार अपरान्ह बुढानिलकण्ठमा स्थित क्याटेन रामेश्वर थापाको नीजि निवासमा भएको चार घन्टा लामो छलफलमा अध्यक्ष ओली फागुन २८ को निर्णय सच्चाउन तयार भएपछि सहमतिको लागि वाताबरण तयार भएको हो ।

वार्तापछि बरिष्ठ नेता नेपालले विवाद समाधानका लागि बिभिन्न तहमा छलफल र वार्ता हुने बताए । भने, ‘मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भयो । फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिक पुगेका छौं । यसका लागि कार्यदल बन्छ । विभिन्न तहमा वार्ता हुन्छ ।’

बरिष्ठ नेता नेपालले सांसदहरूको सामूहिक राजीनामा तत्काललाई टरेको बताए । भने, ‘आज सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई टरेको छ ।’ अब कार्यदलले सहमतिको प्रस्ताव प्रस्ताव ल्याउने तर त्यसकै आधारमा थप निर्णय हुने नेता नेपालले बताए ।

२०७७ ओलीले २८ फागुनमा नेपाल समूहका नेताहरुलाई भूमिकाविहीन बनाउने गरी जिम्मेवारी हेरफेर गर्दै नेता नेपालसहित चार नेतालाई कारबाही गरेका थिए । वरिष्ठ नेता नेपाल समूहले २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटी फर्काउनु पर्ने २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्नुपर्ने माग सहित समानन्तर गतिबिधिमा सक्रिय थिए ।

बिहीबार बिहान एमालेको स्थायी कमिटीले वरिष्ठ नेता नेपाल सहित नेपाल समूहका ४ जना नेताको कारबाही फिर्ता लिएको थियो । बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाही फिर्ता लिने निर्णय लिएको थियो । कारबाही फिर्ता भएपछि बैठकबाटै ओलीले नेपाललाई फोन गरेर छलफलका लागि प्रस्ताव गरेका थिए ।

यसअघि वरिष्ठ नेता नेपालले २६ बैशाख २०७८ मा अध्यक्ष ओलीलाई पत्र लेख्दै पार्टी एकता कायम राख्न आग्रह गरेका थिए । नेता नेपालले पार्टी एकताको लागि अपिल गर्दै ६ बूँदे प्रस्ताव पठाएका छन् । बिभाजनको अन्तिम अवस्थामा पुगेको एमालेको एकता कायम राख्न आग्रह सहित वरिष्ठ नेता नेपालले २६ बैशाखको मध्यराती अध्यक्ष ओलीलाई पत्र लेखेका थिए ।

पत्रमा पार्टी एकताको लागि वरिष्ठ नेता नेपालले ६ बूँदे प्रस्ताव समेत राखेका थिए। वरिष्ठ नेता नेपालले २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात् जेष्ट २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाउनु पर्ने प्रमुख प्रस्ताव राखेका छन् । वरिष्ठ नेता नेपालको यो प्रस्तावमा ओली सहमत भएपछि अवस्था सकारात्मक बनेको हो ।

प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई ३ दिनको समय दिएकी छन्। उक्त समय बिहीबार (आज) राति ९ बजे सकिन लागेको छ ।

२७ बैशाखमा वरिष्ठ नेता नेपाल निकट २८ सांसदहरु अनुपस्थित भएका थिए । धारा ७६ को उपधारा २ बमोजिम सरकार निर्माण प्रक्रिया अघि बढिरहेको बेला बरिष्ठ नेता नेपाल समूहका २८ सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका थिए । योसँगै दुई नेता छलफलमा जुटेका हुन् ।

१० सदस्यीय कार्यदल
स्रोतका अनुसार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच १० सदस्यीय कार्यदल बनाउने सहमति समेत भएको छ । कार्यदलमा सुवास नेम्वाङ, विष्णु पौडेल शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाल गोकर्ण विष्टको नाम टुंगिए स्रोतको दाबी छ । बाँकी नामहरु आजै टुङ्गिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७