भारतबाट आउँदै विपन्न मजदुर : न नाकामा परीक्षण, न गाउँ जान यातायात

तेह्रथुम, खोटाङ, मनाङ र रुकुम पूर्व बाहेक ७३ जिल्लामा निषेधाज्ञा


३१ बैशाख २०७८, शुक्रबार
sima

काठमाडौं, ३१ बैसाख । दोस्रो लहरको कोरोना संक्रमण गाउँगाउँसम्म पुगेको छ । जनघनत्व कम भएका पहाडी तथा हिमाली जिल्लामा समेत संक्रमण तीव्र गतिमा फैलिँदै छ । ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।

गृह मन्त्रालयका अनुसार तेह्रथुम, खोटाङ, मनाङ र रुकुम पूर्वबाहेक ७३ जिल्लामा निषेधाज्ञा लागू छ । हिमालपारिको जिल्ला मुस्ताङमा पनि बिहीबारदेखि निषेज्ञाधा लागू गरिएको छ । ६८ जिल्लामा पूर्ण रूपमा तथा मुस्ताङ, सप्तरी, धनकुटा, काभ्रे र ताप्लेजुङमा आंशिक निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । संक्रमण भयावह बन्दै जाँदा उपचार नपाएर ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा दुई सय १४ जनाको संक्रमणबाट मृत्यु भएको छ । यससँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या चार हजार चार सय ६६ पुगेको छ ।

बिहीबार पिसिआर र एन्टिजेन परिक्षणमा आठ हजार नौ सय ६० जनामा संक्रमण देखिएको छ । किट अभावमा परीक्षण न्यून भइरहेको छ । स्वाब दिएकाले पनि समयमा रिपोर्ट पाइरहेका छैनन् । कुनै कुनै जिल्लामा परीक्षण गरेकामध्ये ७९ प्रतिशतसम्म पनि संक्रमण देखिएको छ ।

बागमती प्रदेशको राजधानी मकवानपुरमा वैशाखयता बुधबारसम्म तीन हजार नौ सय ८६ जनाको परीक्षण भएको छ । तीमध्ये तीन हजार एक सय ५० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

महामारीले रोजगारी गुमाएका नेपाली जीवन रक्षा गर्न स्वदेश फर्किएका छन्, तर नाकामा पर्याप्त परीक्षणको व्यवस्था अहिले पनि छैन । पश्चिमी सीमानाकामा भारतबाट स्वदेश फर्कनेको घुइँचो थामिएको छैन । भारतमा कोरोना संक्रमण तीव्र बनेपछि कोरोनाको त्रास र लकडाउनका कारण रोजगारी गुमाउँदा त्रिनगर र गड्डाचौकी नाकाबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । गत चैत दोस्रो सातायता यी दुई नाकामा दिनहुँ यस्तै घुइँचो छ ।

प्रहरीको तथ्यांकअनुसार त्रिनगर नाकाबाट मात्र दैनिक हजारको हाराहारीमा स्वदेश फर्किरहेका छन् । तर, नाकामा उनीहरूको परीक्षण हुन सकेको छैन । भारतबाट फर्कनेमध्ये थोरैको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको छ । स्थानीय तहहरूले भारतबाट फर्केकालाई क्वारेन्टिनमा राख्ने व्यवस्था पनि गरेका छैनन् । त्यसैले उनीहरू सीधै आ–आफ्ना गाउँघर पुगिरहेका छन् र उनीहरूसँगै कोरोना संक्रमण पनि गाउँगाउँमा पुगेको छ ।

दैनिक सयौँ व्यक्ति परीक्षणविनै गाउँघर पुग्ने गरेकाले समुदायमा संक्रमण तीव्र बनेको स्वास्थ्यकर्मीको भनाइ छ । सुदूरपश्चिममा दैनिक थपिने संक्रमितमध्ये धेरैजसो भारतबाट फर्केका र उनीहरूका परिवारका सदस्य रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।
सुदूरपश्चिम प्रदेशमै संक्रमण तीव्र बन्नुको मुख्य कारण भारतबाट संक्रमण भित्रिनु रहेको उनको भनाइ छ । ‘नाकामा सबैको परीक्षण गर्न नसक्दा संक्रमण गाउँगाउँमा पुगेको हो,’ डा. अवस्थीले नयाँ पत्रिकासँग भने, ‘त्यसैले अहिले गाउँगाउँमा नयाँ भेरियन्टको संक्रमण देखिएको हो ।’

बिहीबार पनि त्रिनगर नाकाबाट करिब एक हजार नेपाली घर फर्किए । तीमध्ये ६७ जनाको मात्र परीक्षण भयो । त्यसमध्ये ११ जनामा कोरोना पजिटिभ देखियो । बुधबार पनि त्रिनगर नाकाबाट एक हजार ५१ जना भित्रिएका थिए । तीमध्ये जम्मा एक सय ६३ जनाको एन्टिजेन परीक्षण हुँदा ३९ जनामा पजिटिभ देखिएको स्वास्थ्य परीक्षणमा संलग्न अहेव गणेश बोहराले बताए ।

धनगढी उपमहानगरपालिका– ६ का गोविन्द जोशी कोरोना संक्रमण भएर दुई सातासम्म ‘होम आइसोलेसन’मा बसे । ‘कन्ट्याक्ट टे«सिङ’का लागि १४ दिनसम्म उनलाई न स्वास्थ्य कार्यालयले फोन गर्यो न उपमहानगरपालिकाले ।

संक्रमण देखिनुअघि कुन–कुन व्यक्तिसँग सम्पर्क भएको थियो, परिवारका सदस्यको परीक्षण भयो कि भएन भनेर सरोकारवाला निकायले नसोधेको जोशीले बताए । ‘कोरोना पजिटिभ रिपोर्ट आएको एक दुई–दिन भौतिक रूपमा प्रत्यक्ष सम्पर्क भएकालाई आफैले फोन गरेर लक्षण देखिएको भए परीक्षण गराउन सुझाब दिएँ,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङका लागि कुनै निकायले फोन गरेनन् ।’

दुवैमा संक्रमण देखिएपछि धनगढी– ५ का हिमाल जोशी श्रीमतीसहित १२ दिनदेखि होम आइसोलेसनमा छन् । उनलाई पनि सम्पर्कमा आएकाको विवरणबारे कुनै निकायले जानकारी मागेको छैन । ‘कोरोना देखिएको चार दिनपछि जिल्ला प्रहरीबाट फोन गरेर बुबाको नाम र कोरोना भएको जानकारी पाउनुभयो कि भएन भनेर सोधेका थिए,’ जोशीले भने, ‘सम्पर्कमा आएकाको जानकारी कुनै निकायले मागेन ।’

यहाँ कोरोना संक्रमण तीव्र बन्दै गए पनि कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन । धनगढीमा मात्रै बिहीबारसम्म एक हजार पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् । उनीहरूमध्ये अधिकांश होम आइसोलेसनमा छन् । संक्रमितका परिवार र उनीहरूको सम्पर्कमा आएकाको परीक्षणका लागि सोधीखोजी हुन छोडेको छ । व्यक्ति आफैँले गएर परीक्षण गराउनेबाहेक कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण हुन सकेको छैन ।

कैलालीमा संक्रमण तीव्र बन्दै गएकाले सबैको कन्ट्याक्ट टे«सिङ गर्न समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । सकेजतिको भने कन्ट्याक्ट ट्रेसिङ गरिरहेको उनले बताए । ‘यसकै लागि स्वास्थ्य कार्यालयले दैनिक तीन जना कर्मचारी खटाएको छ । स्थानीय तहहरूलाई पनि कन्ट्याक्ट टे«सिङ गर्न भनेका छौँ,’ उनले भने, ‘अहिले संक्रमण दर तीव्र बनेकाले सबैको कन्ट्याक्ट टे«सिङ गर्न समस्या भएको हो ।’

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा दैनिक एक हजार दुई सय स्वाबको नमुना जाँच्न सक्ने क्षमताको पिसिआर मेसिन छ, तर जनशक्ति अभावले दैनिक क्षमताभन्दा आधा नमुना जाँच भइरहेको अस्पताले जनाएको छ । जनशक्ति नहुँदा दैनिक चार सय नमुना जाँच्न सक्ने सेतीकै अर्को पिसिआर मेसिन थन्किएको छ ।

चारजना मात्रै प्राविधिक जनशक्ति रहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । पिसिआर मेसिन पूर्ण क्षमता सञ्चालनका लागि १२ जना प्राविधिक आवश्यक पर्ने उनले बताए । औसतमा क्षमताको आधा नमुना जाँच हुने गरेको पनि स्वाबको चाप बढेर कर्मचारी अहोरात्र खटिँदा कुनै दिन सात–आठ सयसम्म नमुना जाँच हुने गरेको उनले बताए ।

गत वर्ष संक्रमणका वेला कोरोना जाँचका लागि सेती अस्पताल मातहत रहने गरी पशु अन्वेषण प्रयोगशाला धनगढीमा दैनिक चार सय नमुना जाँच्ने क्षमताको मेसिन जडान गरिएको थियो । चलाउने जनशक्ति नभएपछि उक्त मेसिन अहिले थन्किएको छ । उक्त प्रयोगशाला अहिले पनि सेतीमातहतमै रहे पनि जनशक्ति नभएकाले बन्द रहेका सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार सुदूरपश्चिमभरि रहेका सातवटा पिसिआर मेसिनबाट दैनिक साढे तीन हजार नमुना जाँच गर्न सकिन्छ । तर, जनशक्ति नहुँदा अहिले दैनिक एक हजारदेखि एक हजार पाँच सय नमुना मात्र जाँच भइरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख रामप्रसाद ओझाले जानकारी दिए । जनशक्ति बढाएर दैनिक तीन हजारवटा स्वाब परीक्षण पु¥याउन सकिने उनले बताए । प्रदेशभरि अहिले दैनिक दुई हजार स्वाब संकलन हुने गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार बिहीबार बेलुकीसम्म कैलालीमा एक हजार तीन सय ५० नमुना जाँचको पर्खाइमा छन् । नमुना बढी भएर थन्किन थालेपछि धनगढीमा सोमबारबाट तीन दिनसम्म स्वाब संकलन बन्द गरिएको थियो । सेतीमा मात्रै पिसिआर जाँचको सुविधा छ । सेतीमा नमुनाको चाप बढ्दा स्वाब दिएकाले रिपोर्ट पाउन ६–७ दिनसम्म पनि कुर्नुपर्ने अवस्था छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७