अमेरिकामा पूर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने


३१ बैशाख २०७८, शुक्रबार
biden

काठमाडौं, ३१ बैसाख । अमेरिकामा पूर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागू गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि लगाइएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर, कार्यालय जस्ता ठाउँमा मास्क लगाउन नपर्ने घोषणा गरेका हुन् । ह्वाइट हाउसमा आयोजित समारोहमा विपक्षी रिपब्लिकन सांसदहरुको साथमा आफूले लगाएको मास्क खोल्दै बाइडेनले पूर्ण खोप लगाएकाहरुले इन्डोर स्थलमा मास्क लगाउनु नपर्ने बताएका बीबीसीले जनाएको छ ।

अमेरिकामा पछिल्लो समय कोरोना विरुद्धको खोपको प्रभावकारीता बढेको र संक्रमण नियन्त्रणतर्फ गएको देखिएको छ । तर अझै पनि बढी भिडभाड हुने अस्पताल, सार्वजनिक यातायात, हवाइ जहाज लगायतकामा भने मास्कलाई अनिवार्य गरिएको छ ।

अमेरिकामा अहिले कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । राष्ट्रपति बाइडेनले कोरोना विरुद्धको खोप लगाउन सबैलाई आग्रह पनि गर्दै आएका छन् । अमेरिकाले कोरोना रोकथामका लागि १२ देखि १५ वर्षका किशोर–किशोरीका लागि पनि खोप दिने घोषणा गरिसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७