निमोनियाले ग्रसित बिरामी टेकुको चिसो भुइँमा, तर वीर र शिक्षणका अत्याधुनिक भवन खाली


१ जेष्ठ २०७८, शनिबार
Teku hospital 6

काठमाडौं, १ जेठ । महामारीले आक्रान्त जनताको चाप धान्न नसकेर टेकु अस्पतालले पेटीमा बेन्चमा मात्र होइन, भुइँमा समेत राखेर उपचार गराइरहेको छ । जम्मा पाँच बेड क्षमताको इमर्जेन्सी वार्डमा ५२ जना बिरामी छन् ।

पटक–पटक परिरहेको पानीले भुइँका बिरामी भिज्न थालेपछि अस्पताल प्रशासनले पार्किङ खाली गरेर बेड थपेको छ । अस्पतालले पार्किङ खाली गरेर १० बेड राखेको छ । तैपनि धेरै बिरामी अझै पनि बाहिरै छन् । यीमध्ये २७ बिरामी गम्भीर छन् जसलाई आइसियूमा राख्न आवश्यक छ, तर बेड समेत नपाएर पेटीमै सुतेर जीवनका लागि संघर्ष गरिरहेका छन् ।

टेकुको इमर्जेन्सी वार्डका प्र्रमुख लीलानाथ भण्डारी भन्छन्, ‘सकेसम्म हाइफ्लो अक्सिजन आवश्यक पर्ने बिरामीलाई वार्डमा सार्ने कोसिस गरिरहेका छौँ । तर, वार्डमा सबैजना गम्भीर बिरामी भएकाले निको हुने दर कम छ, अपेक्षित बेड खाली हुन सकेको छैन । त्यसैले आइसियूमा राख्नुपर्ने बिरामी समेत तीन–चार दिन बाहिरै हुनुहुन्छ ।’

एकातिर निमोनियाले ग्रसित बिरामी टेकुको चिसो भुइँमा छन्, उता दुई किलोमिटर पर वीर अस्पतालमा भर्खरै निर्माण गरिएको भव्य सर्जिकल भवन खाली छ । दुई अर्ब २६ करोड लगानीमा भर्खरै निर्माण भएको यो भवनमा ६ सय ५० बेड राख्ने योजना छ । कम्तीमा दुई सय ७० बेडमा तत्कालै बिरामी राख्न सकिने स्वास्थ्य मन्त्रालयले नै स्पष्ट पारेको छ । टेकु वा अन्य अस्पतालको पेटीमा रहेका बिरामी वीरमा सार्न सकिए कम्तीमा न्यानो बेडमा उपचार पाउँथे । तर, सरकारले अक्सिजन नदिएको भन्दै वीरले नयाँ बेड सञ्चालन गरेको छैन ।

वीरको सर्जिकल भवनमा कम्तीमा एक सय नयाँ बेडमा मंगलबारदेखि नै कोभिडका बिरामी राख्ने तयारी गरिएको थियो । तर, अक्सिजन नपाएकाले बिरामी राख्न नसकिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सर्जिकल भवन सञ्चालन गर्न वीरलाई पटकपटक निर्देशन दिएको छ । तर, सरकारले अक्सिजन नदिएका भन्दै वीरले नयाँ बेडमा बिरामी राख्न मानेको छैन । ‘एक सय नयाँ बेड अहिले नै सञ्चालन गर्न सकिन्छ । तर, पुरानै भवनमा भएका बिरामीलाई पनि पुग्ने अक्सिजन आएको छैन । थप बिरामी भर्ना गर्ने, तर भोलि अक्सिजन नपाएर उनीहरूको मृत्यु भयो भने जिम्मेवारी कसले लिने ?’ निमित्त निर्देशक शान्ता सापकोटाले प्रश्न गरिन् । यो विषयमा स्वास्थ्य मन्त्रालयसँग पटक पटक छलफल भए पनि अक्सिजनको विषयमा भरपर्दो जवाफ नआएको उनले बताइन् ।

वीर अस्पतालको पुरानो भवनमा दुई सय ६१ बिरामी छन् । ‘शुक्रबार साँझसम्म एक सय ६१ जना संक्रमित अस्पतालको वार्डमा भर्ना भएका छन्,’ डा. सापकोटाले भनिन्, ‘इमर्जेन्सीमा एक सय छन् । बेड कुरेर इमर्जेन्सीमा बसिरहेका बिरामी समेत अक्सिजन नपुगेर छटपटाइरहेका छन् । अक्सिजन थप आउने सुनिश्चित नभएम्म नयाँ भवनमा बिरामी कसरी थप्ने ?’

एक वर्षदेखि बिग्रिएको अक्सिजन प्लान्ट भर्खरै बनाएर सञ्चालनमा ल्याइएको छ । दैनिक एक सय ५० सिलिन्डर भर्दै आएको प्लान्टले वीरको माग धान्न सकेको छैन । नयाँ भवन सञ्चालन गर्न बाहिरबाटै अक्सिजन आउनुपर्ने उनको भनाइ छ । यसरी सरकारले पर्याप्त अक्सिजन जोहो गर्न नसक्दा वीर अस्पतालको नयाँ र भव्य पूर्वाधार यो महामारीमा उपयोगविहीन भएको छ । जब कि बिरामीले अथाह दुःख पाएका छन् ।

शिक्षण अस्पतालले पनि बेड नभएकाले बिरामी भर्ना गर्न सकेको छैन । बेडको प्रतीक्षामा शुक्रबार पनि ७० बिरामी इमर्जेन्सी वार्डमा थिए । भित्र नअटेका बिरामी बाहिर पेटीमै छन् । तर, शिक्षण अस्पतालमै भर्खरै निर्माण भएको सुरेश वाग्ले स्मृति क्यान्सर भवन आठ तलाको छ, तर जम्मा ४० बेड मात्र सञ्चालन गरिएको छ ।

‘यो विशाल भवनमा हामीले तत्काल दुई सय बेड थप्ने योजना बनाएका थियौँ । तर , ४० बेड मात्रै प्रयोग गरिएको छ । अरू सबै खाली छन् । अक्सिजन नभएकाले बेडमा बिरामी राख्न सकिएको छैन,’ शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास भन्छन्, ‘हामीले हाल अस्पतालमा भर्ना गरेका बिरामीलाई समेत अक्सिजन पुर्‍याउन सकेका छैनौँ, यो वेला नयाँ बेड थप्ने योजना टाढाको विषय भयो ।’ नयाँ भवनका नयाँ बेडमा बिरामी कहिले राख्ने भन्ने विषय अहिले स्पष्ट गर्न नसकिने उनले बताए । ‘अक्सिजन भए छिट्टै राख्न सकिन्छ, तर त्यसको जिम्मेवारी कसले लिने ?’ उनले भने ।

शिक्षणकै मनमोहन सेन्टरको नवनिर्मित ‘एनएक्स’ भवनमा भने कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । यो भवनमा जनरल बेड र आइसियूमा बिरामी राखेर उपचार थालिएको अस्पतालका चिकित्सक डा. रत्नमणि गजुरेलले बताए । ‘एनएक्स भवनमा अहिले जनरल बेड २०, क्याबिन १० बेड र १२ बेड आइसियू सञ्चालनमा छ । अहिले सबै बिरामीले भरिएका छन्,’ डा. गजुरेलले भने ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ भन्छन्– अक्सिजन पाए अस्पतालले दोब्बर बेड चलाउन सक्छन्

अक्सिजनको चरम अभाव छ । अस्पतालले मात्र होइन, अहिले एम्बुलेन्सले समेत अक्सिजन सिलिन्डर भर्न पाएका छैनन् । वीर अस्पतालको सर्जिकल भवनमा बिरामी राख्ने भनिएको थियो, तर अक्सिजन नभएकाले राख्न सकिएको छैन । अक्सिजन पाउन सके अस्पतालहरूले अहिलेको दोब्बर बेड चलाउन सक्छन् ।

वीर नै सय बेड थप्न तयार छ, पाटन अस्पतालले तीन सय शड्ढया सञ्चालन गर्ने भनेकामा अक्सिजन अभावले एक सय ७० मात्र चलाएको छ । त्यस्तै सुरेश वाग्ले क्यान्सर भवनमा दुई सय बेड चलाउने भनिएकोमा अक्सिजन अभावले ४० बेड चलाइएको छ । शिक्षण अस्पतालले पाँच सय बेड सञ्चालन गर्ने भनेकोमा अक्सिजन अभावले तीन सय ४० मात्रै चलाएको छ ।

वीरको सर्जिकल भवनमा दुई सय ७० बेड तयार पारिएको छ । ५० बेड आइसियूका लागि प्रयोग गर्न मिल्ने खालका छन् । तर, दुई सय ७० बेड सञ्चालन गर्न २४ घन्टामा कम्तीमा पनि पाँच सय सिलिन्डर आवश्यक पर्छ । त्यो आपूर्ति गर्न सम्भव छैन । वीरकै पुरानो भवनमा भएका बिरामीलाई समेत अक्सिजन पुर्‍याउन सकिएको छैन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७