भक्तपुरको मध्यपुर थिमिमा दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन शुरु


१ जेष्ठ २०७८, शनिबार

भक्तपुर, १ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले अक्सिजन उत्पादन थालेको छ । ६५ लाख रुपैयाँको लागतमा नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एअर बेस अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गरि आजदेखि बिरामीलाई दिन थालिएको छ ।

हिजो बेलुकादेखि सञ्चालनमा आएको प्लान्टबाट दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन हुनेछ । एअर बेस अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गरी परीक्षण सफल भएको र आजदेखि उत्पादन र वितरण थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आईसीयू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोरोनाका २४ विरामीलाई दिन थालिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । चीन र अष्ट्रेलियामा मात्रै जडान भएर सञ्चालनमा आएको एअर बेस अक्सिजन प्लान्ट नगरपालिकाले चीनबाट दुई महिना लगाएर ल्याएको हो ।

प्रति घण्टा आठ हजार लिटर अक्सिजन उत्पादन गर्ने यो प्लान्टबाट २४ घण्टामा १ लाख ९२ हजार लिटर अक्सिजन उत्पादन हुनेछ । यसले आईसीयू, हाइकेयर युनिट र भेन्टिलेटरका २४ बिरामीलाई पर्याप्त अक्सिजन पुग्ने र आकस्मिक कक्षलगायतका ठाउँमा राखिएका थप १९ बिरामीलाई दैनिक ३० सिलिण्डर अक्सिजन आयात गरे पुग्ने भएको नगर प्रमुख श्रेष्ठले बताए । नगरपालिकाले अहिले ४२ वटा शैंया सञ्चालन गरी कोरोनाका बिरामीको उपचार गर्दै आएको छ । थप २० शैंया विस्तार भएको र केही दिनभित्रै सञ्चालनमा ल्याउने उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७