जाजरकोटमा निषेधाज्ञा थपियो : मेयर चढ्ने गाडी कोरोना नियन्त्रणमा


१ जेष्ठ २०७८, शनिबार
जाजरकोट

जाजरकोट, १ जेठ । कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए । जाजरकोटमा कोरोनाले दुइ जनाको मृत्यु भइसकेको छ ।

जिल्ला अस्पतालमा १०३ आइसोलेसन शैंया, आइसियू कक्ष ३, भेन्टिलेटर १, अक्सिजन सिलिण्डर ५४, एचडीयू १, अक्सिजन सहितको शय्या ३३ र साधारण आइसोलेसन ३३ छ । थप अक्सिजन सिलिण्डर खरिद गर्न बुधबार बोलपत्र आह्वान गरिएको छ । त्यस्तै छेडागाड नगरपालिकाले १५ शैंयाको कोभिड आइसोलेसन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए । प्रत्येक पालिकाले १५ शय्याको आइसोलेसन बनाउने योजना बमोजिम काम भइरहेको छ ।

प्रत्येक पालिकाले अक्सिजन सिलिण्डर खरिद गरिरहेका छन् । भेरी नगरपालिकाले संक्रमित बिरामीलाइ ओसारपसार गर्न नेपाल रेडक्रस सोसाइटीको एम्वुलेन्स असारसम्मलाई भाडामा लिएको छ । स्वाव संकलन, कन्टयाक्ट ट्रेसिङ, कोरोना अनुगमनको लागि नगर प्रमुख चढ्ने गाडी प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । नगरपालिकाले एम्वुलेन्स र शववाहन खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

दुई दिनको तलव भत्ता कोभिडमा

यसै बीच भेरी नगरपालिकाले जनप्रतिनिधी, शिक्षक र मातहतका सबै कर्मचारीको दुई दिनको तलब सुविधा कटाएर विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ ।

त्यसरी कटाईएको तलब रकम सात लाख भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले महमारीमा खटिने स्वास्थ्यकर्मीको भने तलब सुविधा कटाएको छैन । बढ्दो जोखिम नियन्त्रण गर्न संक्रमितका लागि अक्सिजन सिलिन्डरसहितको १४ शैंयाको आइसोलेसन कक्ष, नौ वटा सिलिन्डरको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । गत वैशाख १३ यता नगरपालिकाले आठ सय ३८ जनाको परीक्षण गरेकोमा दुई सय ६१ जना पोजेटिभ भएकोमा ५६ जनाले कोरोना जितेर गएको जनस्वास्थ्य निरीक्षक निशा थापाले बताइन् ।

महामारी र संक्रमितको अवस्थालाई ध्यानमा राखी आवश्यक औषधि तथा सुरक्षाका सामग्री स्यानीटाइजर, मास्क, व्यक्तिगत सुरक्षा सामग्री लगायतका सामग्री नगरपालिका मातहतका पाँच स्वास्थ्य चौकी र सात आधारभुत वडा स्वास्थ्य सेवा केन्द्रमा वितरण गरिएको नगर स्वास्थ्य शाखाका दिपक ओलीले जानकारी दिए । परीक्षण गर्ने किटको अभावमा दायरा बढाउन समस्या भए पनि पहल भइरहेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७