ओलीसँगको सहमतिबारे नेपाल–खनाल पक्षका केन्द्रीय सदस्यको छलफल, आज कार्यदल बन्दै


१ जेष्ठ २०७८, शनिबार

काठमाडौं, १ जेठ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आज (शनिबार) पुनः केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछन् । छलफल बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुने जनाइएको छ ।

खनाल–नेपाल समूहले शुक्रबार पनि प्रदेशगत रूपमा केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । शुक्रबार धारणा राख्न बाँकी रहेका नेताहरूले आज बोल्ने कार्यसूची रहेको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए । आज वरिष्ठ नेता नेपालले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भएको छलफलबारे पनि ब्रिफिङ गर्ने मानन्धरको भनाइ थियो । ‘हिजोको छलफलमा धारणा राख्न बाँकी रहेका सदस्यहरूले बोल्ने कार्यसूची छ’, उनले भने, ‘हिजोको छलफलको पनि ब्रिफिङ होला ।’

आज कार्यदल गठन हुँदै
बिहीबार चपल घुम्तीस्थित व्यवसायी रामेश्वर थापाको घरमा भएको छलफलअनुरूप आज प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालले कार्यदल गठन गर्दैछन् । शुक्रबार सिंहदबारमा भएको दुवै पक्षको छलफलले कार्यदल गठन गर्ने र त्यसलाई पूर्णता दिने काम अध्यक्ष ओली र नेता नेपालले गर्ने निर्णय भएको भीम रावलले जानकारी दिए ।

कार्यदलमा दुवै पक्षका पाँच–पाँच जना रहने तय भएको छ । ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शङ्कर पोखरेल रहने पक्कापक्की छ । दुईजनाको नाम तय हुन बाँकी रहेको स्रोतले जानकारी दियो । खनाल–नेपालका तर्फबाट भने सबै जनाको नाम टुङ्गिइसकेको छ । कार्यदललमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेन छन् ।

अन्तिम समयमा ओलीसँग उधारो सम्झौता गरेको भन्दै खनाल–नेपाल समूहका केन्द्रीय सदस्य असन्तुष्ट बनेका छन् । उनीहरूले प्रधानमन्त्रीले ओलीले विश्वासको मत लिनुअगावै सबै कुरा टुङ्ग्याउन र नभए पूर्ववत् अडान नत्याग्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले ओलीको सहमति गर्ने तर पालना नगर्ने कार्यशैली रहेकाले चनाखो हुन र कार्यदलले एक मतले प्रस्तुत हुन, सदस्यहरू विभाजित नहुन ध्यानाकर्षण गराएको केन्द्रीय सदस्य मानन्धर बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७