डब्ल्युएचओले भन्यो : कोरोनासँग जुधिरहेको नेपाललाई आपतकालीन सहयोगको खाँचो छ


१ जेष्ठ २०७८, शनिबार
who chief 9CAv2VtzzK

काठमाडौं, १ जेठ । कोरोना भाइरस महामारीसँग जुधिरहेको नेपाललाई आपतकालीन सहयोगको खाँचो भएको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले बताएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्ल्युएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रियसुसले दैनिक कोरोना संक्रमित बढिरहेको नेपाललाई आपतकालीन सहयोगको आवश्यकता भएको बताएका हुन् ।

भारतमा कोरोनाले चिन्ताजनक अवस्था निम्त्याएको बताउँदै गिब्रियससले भनेका छन्, ‘भारतलाई मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्याण्ड र इजिप्ट जस्ता देशहरूलाई पनि आपतकालीन सहयोग आवश्यक छ । त्यहाँ संक्रमित र अस्पताल भर्ना हुनेको संख्या ह्वात्तै बढेका छन् ।’

डब्ल्युएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने उनको भनाइ छ । नेपालमा यतिबेला दैनिक ८ हजार ५ सयभन्दा बढी संक्रमित थपिरहेका छन् । सोही अवधिमा यहाँ सयभन्दा बढीको ज्यान गइरहेको छ ।

पछिल्लो समय अक्सिजन अभाव भएको भन्दै नेपालका अस्पतालहरुले कोरोना संक्रमितलाई भर्ना लिन मानिरहेका छैनन् । यसबीचमा डब्ल्युएचओले नेपाललाई आपतकालीन सहयोग चाहिएको बताएको छ । कोरोनाको प्रभावबाट जोगिन भन्दै नेपालको राजधानी काठमाडौंलगायत अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७