एमाले काभ्रेको निर्देशन : राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई भोट हाल्नू

राप्रपाले पनि बादललाई नै भोट हाल्ने


१ जेष्ठ २०७८, शनिबार
Badal khimlal

काठमाडौं, १ जेठ । नेकपा एमाले काभ्रे जिल्ला कमिटीले आउँदो जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई भोट हाल्न निर्देशन दिएको छ ।

जिल्ला अध्यक्ष अशोककुमार ब्याञ्जुले एक विज्ञप्ति जारी गर्दै पार्टीको उम्मेद्वार बादललाई जिताउन प्रदेशसभा सदस्य र पालिका प्रमुख, उपप्रमुखहरूलाई यस्तो निर्देशन दिएको हुन् ।

‘नेकपा एमालेको आधिकारिक उम्मेदवार रामबहादुर थापा बादल बाहेक अन्य उम्मेदवार छैनन्’, जिल्ला अध्यक्ष ब्याञ्जुले भनेका छन्, ‘कथित प्रचारबाजीको भ्रममा नपरी पार्टीका उम्मेदवार बादललाई सूर्य चिह्नमा मतदान गरी विजय गराउन काभ्रे जिल्लाका सबै प्रदेशसभा सदस्य नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरूलाई अनुरोध गर्छु ।’
राप्रपाको भोट पनि बादललाई
राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन् । शीर्ष नेताहरुबीच आज (शनिबार) भएको छलफलमा अध्यक्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएका थिए ।

यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाका एक नेताले जानकारी दिए । उनले भने, ‘औपचारिक निर्णय त भएको छैन । तर महामारीका कारण फेरि बैठक बस्न सम्भव नहुने भएकाले एमालेले औपचारिक आग्रह गरे भोट दिने सहमति भएको छ ।’

वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७