महामारीमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि


२ जेष्ठ २०७८, आईतवार
khadya

काठमाडौं, २ जेठ । कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् ।

निषेधाज्ञाका कारण महामारीसँग लड्दै गरेका उपभोक्ताहरूको आम्दानी समेत घटेको अवस्थामा अनेक बहानामा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने काम ठूला व्यापारीहरूबाट भइरहेको छ । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार निषेधाज्ञा शुरू हुनुभन्दा अघि प्रतिकिलो ११० रुपैयाँ मूल्य रहेको मसुरोको दालको मूल्य यति बेला प्रतिकिलो १२२ रुपैयाँ पुगेको छ ।

मासको दालमा प्रतिकिलो १० रुपैयाँले वृद्धि हुँदै १ सय ६५ बाट १ सय ७५ रुपैयाँ पुगेको छ । १ सय १० रुपैयाँ किलो रहेको चनाको मूल्यमा २५ रुपैयाँले वृद्धि हुँदै प्रतिकिलो १ सय ३५ रुपैयाँ पुगेको छ । त्यसै गरी, हरेक ब्रान्डको चामलमा प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य बढाइएको संघले बताएको छ । यतिबेला मूल्य बढाउनुपर्ने त्यस्तो खास कारण केही नभए पनि केही सीमित व्यापारी र बिचौलियाहरूले राजनीतिक तरलता र निषेधाज्ञाको बहानामा मूल्य बढाएको हुनसक्ने संघका निवर्तमान अध्यक्ष पवित्रमान वज्राचार्यले बताए ।

उनका अनुसार खाद्य वस्तुको व्यापारमा कालो बजारी मौलाएको छ । ‘यो समस्या न सरकारलाई हेर्ने फुर्सद छ न त नियामक निकायलाई यससम्बन्धी कुनै चासो छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । यही मौकामा थोक व्यापारीहरूले खुद्रा व्यापारीलाई सही मूल्यको बीलबीजक नदिने समस्या पनि उत्तिकै बढेको उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७