तातोपानी नाका आइपुग्यो चीनले सहयोग गरेको १८ हजार थान अक्सिजन सिलिण्डर

थप नौं करोड बराबरको सामग्री सहयोग गर्दै चीन


२ जेष्ठ २०७८, आईतवार

काठमाडौं, २ जेठ । चीन सरकारले सहयोग प्रदान गरेको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाका आईपुगेको छ । सरकारलाई आज–भोलि नै हस्तान्तरण गर्ने चिनियाँ पक्षको तयारी छ । चीनले सिलिण्डरका साथै अन्य स्वास्थ्य सामाग्री सरकारलाई सहयोग स्वरुप उपलव्ध गराएको हो ।

चीनले उपलब्ध गराएको अरु दुई हजार थान सिलिण्डर नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौं ल्याउने तयारी छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले १८ हजार थान सिलिण्डर छिटोभन्दा छिटो काठमाडौं ल्याउने विषयमा हिजो नै सरोकारवालाहरुसँग परामर्श गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् ।
कोरोनाविरुद्ध लड्न चीनले थप नौं करोडको सामग्री सहयोग गर्ने
यस्तै कोरोना महामारी सामना गर्न चीनले नेपाललाई आकस्मिक सहयोग स्वरूप ९ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

कोरोना संक्रमितको उपचारका क्रममा अक्सिजनको हाहाकार भएपछि नेपालले तत्काल अक्सिजन प्लान्ट उपलब्ध गराउन गरेको आग्रह बमोजिम चीनले ५ मिलियन आरएमबी (करिब ९ करोड ८ लाख रुपैयाँ) आकस्मिक सहयोग दिने घोषणा गरेको हो ।

अर्थ मन्त्रालय र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) बीच गत शुक्रबार भएको भिडिओ कन्फरेन्समा नेपालले अक्सिजन प्लान्ट सहयोग गर्न आग्रह गरेको हो । त्यस क्रममा सिड्काका उपाध्यक्ष बोकिङले नेपाललाई थप ५ मिलियन आरएमबी सहयोग गर्ने घोषणा गरेका हुन् ।

यसअघि चीनले नेपाललाई तीन हजार पाँच सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर दिने घोषणा गरिसकेको छ भने यसअन्तर्गत पहिलो चरणमा चार सय थान सिलिण्डर र १० थान भेन्टिलेटर ल्याइसकिएको छ । यस्तै चीनले आफ्नो देशमा उत्पादित ८ लाख डोज कोरोना खोप यसअघि नै सहयोग गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७