कोरोना संक्रमितलाई भरतपुर अस्पतालको हटलाइन सेवा


२ जेष्ठ २०७८, आईतवार
korona

चितवन, २ जेठ । भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ । कोरोना कहरलाई मध्यनजर गरी बिरामी र आफन्तको सुविधालाई ध्यानमा राखी ‘कोभिड–१९ हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार कोरोना सङ्क्रमितका लागि शैंया, अक्सिजन, बिरामीले होम आइसोलेशनमा रहँदा कुनै स्वास्थ्य समस्या देखिएमा वा अन्य कुनै पनि जिज्ञासा भए सिधै फोनबाट चिकित्सकसँग परामर्श लिन सक्ने छन् । त्यसका लागि ०५६–५९६०९० मा सम्पर्क गर्न सकिने उनले बताए । डेस्कका लागि १० चिकित्सक तथा छ पारामेडिक्सलाई जिम्मेवारी तोकिएको छ ।

बिहान७ देखि दिउँसो १ बजेसम्म एक सिफ्ट्, दिउँसो १ देखि साँझ ७ बजेसम्म अर्को र रातिको समयमा गरी तीन सिफ्ट्मा २४सै घण्टा सेवा सञ्चालनमा गरिएको छ । अस्पतालमा आएका बिरामीले समेत आकस्मिक कक्षसँगै रहेको ‘कोभिड–१९ हेल्थ डेस्क’ मार्फत कोरोनासँग सम्बन्धित सम्पूर्ण जानकारी लिन सक्ने छन् ।

सङ्क्रमितलाई शैंया बुझ्न, सामान्य जिज्ञासा तथा समस्याका लागि अस्पताल आइराख्नुपर्ने समस्या केही हदसम्म समाधान हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले बताए । अस्पताल आउँदा हुनसक्ने कोरोना सङ्क्रमणसमेत कम गर्न सकिने तिवारीले विश्वास व्यक्त गरे ।

जिल्लामा अहिले तीन हजार ७४१ सक्रिय सङ्क्रमित छन् । तीमध्ये २१४ अस्पतालको आइसोलेशनमा, तीन हजार ५२४ होमआइसोलेशनमा र तीन जना सार्वजनिक आइसोलेशनमा उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १६३ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७