‘म समलिङ्गी हुँ’


१३ फाल्गुन २०७४, आईतवार

काठमाण्डौं, १३ फागुन : सामाजिक सञ्जालका ‘सेलिब्रेटी’ लेक्स लिम्बूले २५ वर्षको उमेरमा आफू समलिंगी भएको घोषणा गर्दै सबैलाई आश्चर्यमा पारेका छन् । भिडियो सेयरिङ साइट युट्युबमा झुम्मिने नेपालीहरूका लागि लेक्स लिम्बू कुनै नौलो नाम होइन । सामाजिक सञ्जाल ट्वीटर र फेसबुकका ‘सेलिब्रेटी’ लेक्सलाई पछ्याउनेहरू पनि उत्तिकै छन् ।

१५ वर्षको उमेरदेखि नै ब्लग लेख्न शुरु गरेका लेक्सको अफिसियल युट्युब च्यानल चार हजार भन्दा बढीले रुचाएका छन् । १३ हजार ९ सयले ट्वीटरमा पछ्याउँदा एक लाख १४ हजार ६ सय २९ भन्दा बढी फेसबुक पेजमार्पmत उनीसँग जोडिएका छन् । तिनै लेक्सले आफ्नो जीवनको गोप्य तर, मानवीय संवेदनाले भरिएको यस्तो वेदनालाई सतहमा ल्याउन साहस गरे, त्यो पनि २५ औं वर्षमा पुगेर । अब २५ वर्षदेखि लुकाएर राखेको उनको शारीरिक चाहना सार्वजनिक भएको छ । शनिबार उनले ‘लेक्स लिम्बू अन लाइफ, फेमिली एण्ड आइडेन्टी’मार्फत आपूm समलिंगी भएको घोषणा गर्दै कमै नेपालीले गर्न सक्ने आँट गरेका छन् ।

‘म तिम्री आमा र तिम्रा बुवाले तिमीलाई छोराका रूपमा पाएका थियौं, म अहिले पनि खुशी छु । तिमीले जुन कुरा सुनायौं, त्यसमा पनि खुशी छौं,’ लेक्सकी आमाले भिडियोमा भनेकी छन्, ‘छोरा ! तिमी धैर्यका साथ अगाडि बढ्नु । एक दिन तिमीले कल्पेको गन्तव्य भेट्टाउनेछौं भन्ने विश्वास छ हामीलाई ।’ बेलायतमा बस्दै आएका गैरआवासीय नेपाली लेक्सले आफूले अहिले आएर समलिंगी भएको घोषणा गरेपछि आफ्नी आमालाई प्रश्न गरे, कस्तो लागिरहेको छ ?’ उनको प्रश्नमा आमाका आँखा नरसाउने कुरै थिएन । बोली पनि धोक्रे बन्यो नै । तर पनि आमाको जवाफलगत्तै आमाछोरा अँगालोमा बाँधिन पुग्छन्, दुवैका आँखाका परेलीको डिल आँसुले भिज्न थाल्छ । आँसु क्रमशः चिउँडोबाट खस्न थाल्छन् । ‘लेक्स !’ यति भनेर आमा चुप लाग्छिन् । आमालाई थाहा छ– उनका छोरा ‘बायोजिक अर्डर’ अनुसार पुरुष नै हुन् । तर, उनको यौनचाहना विपरीत लिंगीले पूरा गर्न सक्दैनन् ।

नेपाली समाजमा कैयौं समलिंगी छन्, जसलाई तेस्रोलिंगीका रूपमा समेत सम्बोधन गरिन्छ । हाम्रो जस्तो समाजमा व्याप्त अशिक्षा तथा कुरीतिका कारण उनीहरूलाई हेर्ने दृष्टिकोण हेपाहा छ । त्यसैले उनीहरू आफ्नो परिचय लुकाउन बाध्य पारिएका छन् । यो यथार्थलाई लेक्सकी आमाले पनि स्वीकार गरेकी छन् ।जन्मथलो नेपाल, कर्मथलो बेलायत । बुबा ब्रिटिस लाहुरे । उनी सानैमा बेलायत पुगे । परिवारसहित बेलायतमा रहेका उनले क्वीन म्यारी युनिभर्सिटीबाट सन् २०१३ मा हुमन जियोेग्राफीमा स्नातक गरे । बेलायतको किङ्स युनिभर्सिटीबाट दुई वर्षअघि टुरिज्म, इन्भायरोमेन्ट एण्ड डेभलपमेन्टमा स्नातकोत्तर पनि पूरा गरे ।

पछिल्लो समयमा सार्वजनिक विषयमा आफ्ना विचार पस्कने र सार्वजनिक व्यक्तित्वबारे टिप्पणी गर्ने अनि युट्युब च्यानलसँगै ब्लगमा रमाइरहेका लेक्सले लामो समयसम्म आफ्नो परिचय किन खुलाएनन्, समलिंगी भएको यथार्थबारे ? लेक्सले भिडियोमा भनेका छन्, ‘म को हुँ भनेर आपैंmलाई सोधेँ । आफू के हुँ भनेर अरुलाई भन्न जरूरी पनि थिएन, जस्तो लाग्छ । तर, मलाई लाग्यो मेरो त एक किसिमको कर्म छ ।
सोच्दै गर्दा यो मेरो कहानी मात्र होइन । मेरो जिम्मेवारी पनि रहेछ अनि अरूलाई बताउने हिम्मत गरें ।’ ‘एउटा सपना हुन्छ– छोरा भएपछि बुहारी हेर्ने अनि उनका सन्तानलाई खेलाउने,’ लेक्सले पनि भिडियोमार्फत् यही भाव बोलेका छन् । ‘जब मैले ममीलाई भने म ‘गे’ हुँ भनेर, पहिले त निकै डर लाग्यो । यति लामो समयसम्म यो कुरा आफैमा गुम्साइराखेको थिएँ । हुन त मैले स्वेच्छाले रोजेको विषय पनि होइन यो,’ उनले आफ्नो परिचय खुलाउँदै भने । लेक्सले आफ्नो यथार्थ खुलाइरहँदा उनकी आमाले भनिन्, ‘जुन कुरा तिमीले सुनायौ । सुनाउन त्यति सजिलो पनि थिएन । छोरा ! मलाई र बुवालाई सरप्राइज र पीडा भएको महसुस पनि भयो । छोरा ! तिमीलाई पनि सायद त्यस्तै भयो होला । पछाडि फर्केर हेर्नुभन्दा अगाडि नै बढ्नुपर्छ ।’

यो प्रविधिको युग हो । इन्टरनेटकोे माध्यमबाट संसार नियाल्न सकिन्छ, घरमै बसेर । संसारभरका खबर थाहा पाउन औंला दबाए पुग्छ । लेक्स पनि हरेक दिन नेपाल पुग्छन् होला भर्चुअल संसारमा रमाउँदै । र त नेपाली घटनाक्रमलाई विचारसहित टप्प ब्लगमा राख्छन्, उनी । लेक्सको ब्लग ‘लेक्स लिम्बु डटकम’ का दर्शक मासिक ४४ हजार नाघ्छन् । उनलाई विशेषगरी प्रवासी युवाले पछ्याउने गरेका छन् । युट्युब च्यानलमा तीन सयभन्दा बढी भिडियो अपलोड गरिसकेका छन्, उनले । बुद्धको जन्मस्थलबारे बलिउड फिल्म ‘चाँदनी चोक टु चाइना’ले गरेको दुष्प्रचार (सन् २००८ ताका) बारे लेक्सले चलाएको बहसले प्रसिद्धि बटुलेको थियो । गायक कुमार कान्छाको उपचारका लागि उनको च्यानलले अभियान चलाएको थियो ।

२ ५औं वसन्तमा आएर परिवारलाई आश्चर्यचकित पारेका लेक्सको वास्तविकतालाई घरपरिवारले सहजै स्वीकार गरिदिएकोमा उनी हर्ष व्यक्त गर्छन्, भिडियोमार्फत् नै । ‘तिमीप्रति हाम्रो सदा साथ रहनेछ । छोरा ! यो कुरा अगाडि नै भन्नुपथ्र्यो । भविष्यमा तिमीजस्ता अन्यलाई बुवाआमाको साथ र सहयोग प्राप्त भए मात्र तिम्रो साहस सही सावित हुनेछ,’ छोरा तेस्रोलिंगी भएको थाहा पाएपछि हौसला दिँदै आमाले यसो भनिरहँदा आमा छोरा अँगालोमा बाँधिएर फेरि आँसु झार्छन् । यो खबर जनता पोष्टले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७