ओली–नेपालबीच सिंहदरबारमा वार्ता शुरु


२ जेष्ठ २०७८, आईतवार
kp oli madhav kumar nepal 1

काठमाडौं, २ जेठ । पार्टीभित्रको विवाद समाधानका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान टु वान’ वार्ता शुरु भएको हो ।

शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ । नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो ।

उक्त सहमति कार्यान्वयनको प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्ने सहमति भएको थियो । कार्यदलका सदस्यहरु ओली र नेपालले टुंगो लगाउँदै छन् । माधव नेपाल समूहबाट कार्यदलमा रहने व्यक्ति लगभग टुंगो लागेपनि ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोख्रेलबाहेक अन्यको टुंगो लागेको छैन ।

नेपाल पक्षबाट भने कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने यसअघि नै टुंगो लागेको थियो । ओली आफ्नो तर्फबाट कार्यदलमा रामबहादुर थापा ‘बादल’ लाई समेत राख्ने तयारीमा छन् । तर माधव पक्षले थापालाई राख्न नहुने बताउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७